वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २२ कात्तिक (रासस) : वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षमा नेकपा (एमाले) को ४३ र साझा विवेकशील पार्टीको तीन मत परेको छ । नेपाल मजदुर किसान पार्टीले सो प्रस्तावमा तटस्थ रहने घोषणा गरेको थियो ।

यसैगरी, राप्रपाका सांसदहरू अनुपस्थित रहनुभएको थियो । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो । तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले गत कात्तिक १० गते मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उक्त पदमा राजेन्द्र पाण्डे नियुक्त हुनुभएको हो । वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभाका सदस्यहरू हुनुहुन्छ । आजको बैठकमा जम्मा १०४ जना प्रदेशसभा सांसदहरू उपस्थित हुनुहुन्थ्यो ।

यो पनि – आठ गिद्ध प्रकृतिमा छाडियो

चितवन, २२ कात्तिक (रासस): चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा हुर्काइएका आठ गिद्ध आज प्रकृतिमा छाडिएको छ । यहाँ हुर्काएर १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका गिद्धलाई आज छाडिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले गिद्ध प्रकृतिमा छाड्नु भएको हो । सो अवसरमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशङ्कर मर्दनिया, निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणका गणपति शशिकुमार कार्कीको उपस्थिति थियो ।

प्रमुख संरक्षण अधिकृत आचार्यका अनुसार पिठौलीमा रहेको खोरमा प्रकृतिमा रहेका गिद्धको रहनसहनमा घुलमिल हुने गरी केही समय राखेपछि आज प्रकृतिमा छाडिएको हो । यसअघि सन् २०१७ मा ६ पोथी, सन् २०१८ मा तीन पोथी र दुई भाले तथा सन् २०१९ मा चार पोथी र तीन भाले गिद्धलाई यसरी नै प्रकृतिमा छाडिएको थियो ।

महानिर्देशक कँडेलले प्रकृतिमा गिद्धको सङ्ख्या बढाउन यो उपयोगी भएको बताउनुभयो । अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको सङ्ख्या बढाउन संरक्षण गरी हुर्काएर प्रकृतिमा छाडिएको हो । नेपालले विश्वमा नै पहिलो पटक लोप हुन लागेको गिद्ध खोरमा हुर्काएर प्रकृतिमा छाड्ने कामको थालनी गरेको कँडेल बताउनुहुन्छ ।

हाल नवलपरासीसँगै दाङ, कैलाली र कोसीटप्पुमा जटायु रेस्टुरेन्टमार्फत गिद्धको संरक्षण गरिँदै आएको छ । कँडेलले यसबाट परिस्थितीय प्रणालीको जगेर्नामा टेवा पुगेको बताउनुभयो । प्रकृतिमा रहेका गिद्धलाई सबैले संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ ।

सन् २००८ देखि कसरामा संरक्षण गरी गिद्ध हुर्काउन थालिएको हो । हाल कसरामा १५ भाले र १५ पोथी गिद्ध छन् । यस वर्ष गिद्धले हालसम्म चार अण्डा पारेको कार्यालयले जनाएको छ । एक हप्तामा पिठौलीमा प्रकृतिमा रहेका १० गिद्धलाई नियन्त्रणमा लिएर ढाडमा स्याटलाइट ट्याग जडान गरी छाडीएको छ । गिद्धको चरिचरन, घुलमिल, बासस्थानलगायत विषयमा स्याटलाइटमार्फत अध्ययन गरिने निकुञ्जले जनाएको छ ।

मुख्यरुपमा पशु बिरामी पर्दा नदुख्नका लागि प्रयोग गरिने डाइक्लोफिनाक औषधि प्रयोग गरेपछि मरेको पशुको मासु खाँदा गिद्ध मरेको संरक्षणकर्मी बताउँछन् । सन् २००४ मा पाकिस्तानमा डाइक्लोफिनाक औषधि प्रयोग गरेका पशुको मासु खाएका कारण गिद्ध मरेको तथ्य पत्ता लागेको थियो । त्यस्ता मासु खाँदा गिद्धको मिर्गौलामा खराबी हुने र गिद्ध मर्ने गरेको बताइन्छ ।