आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु

आन्तरिक यात्रुलाई गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ कात्तिक (रासस) : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई यात्रुको सुविधालाई दृष्टिगत गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ । विमानस्थलको गोल्डेन गेट (प्रवेशद्वार) बाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था गरिएको हो । हाललाई प्राधिकरणका दुईवटा माइक्रोबसले सेवा सुरु गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले उक्त बस सेवाको शुभारम्भ गर्दै आन्तरिक उडानका यात्रुको सहजताका लागि बस सेवा सञ्चालन गरिएको बताउनुभयो । मन्त्री आलेले थप दुईवटा बसको व्यवस्था गर्नसमेत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उहाँले गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउनसमेत निर्देशन दिनुभएको छ ।

यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले यात्रुको सहजताका लागि तीनवटा बस गोल्डेन गेटमा र सोही सङ्ख्यामा बस आन्तरिक टर्मिनलमा राखेर सञ्चालन गरिनेछ ।

खासगरी आन्तरिक उडानमा यात्रुले लामो बाटो ब्यागेज बोकेर कष्टकासाट गाडीसम्म पुग्नुपर्ने र कतिपय यात्रुले बालबच्चाका साथ गह्रुङ्गो झोला बोक्नुपर्ने बाध्यताको अन्त्यका लागि बस सेवा सञ्चालन गरिएको हो । यात्रुले दुःख पाएको र ट्याक्सीसँग बार्गेनिङ गर्दा ठूलो रकम खर्च गर्नु परेको गुनासो आएपछि यात्रुका लागि बसको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि यात्रुले विमानस्थलको बाहिर ओर्लिएर सिधै सार्वजनिक यातायात वा आफ्नो रोजाइको यातायातमा यात्रा गर्न सक्नेछन् ।

यो पनि – विपरीत गुणका सूर्य र पानीको आराधना गरिने पर्व छठ

काठमाडौँ, २२ कात्तिक (रासस) ः विपरीत गुणका सूर्य र पानीको पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व सुरु भएको छ । मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ आज बिहान स्नान गरेसँगै सुुरु भएको हो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन आज बिहान व्रतालुले स्नान गरेसँगै यो पर्वको विधि सुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । यस दिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै तामसी खाद्य परिकार नखाई शुद्ध खानपीन गर्छन् ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् । तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्व एवं साज सज्जाका साथ यो पर्व मनाउन थालिएको हो ।

यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो । कार्तिक शुक्ल चतुर्थीका दिन छठ स्थलमा सरसफाइ एवं स्नान गरेका व्रतालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन् । यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ । यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंह बताउनुहुन्छ ।

षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ, रोटी सूर्य एवं छठी मातालाई चढाउने गर्छन् । रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ । षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ । साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिइ प्रणाम गरिन्छ । अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटा केटीले सुयोग्य वर बधु प्राप्तिको कामना गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेतको सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले बताउनुभयो । गुह्येश्वरीमा विसं २०७६ को छठसम्म मुस्लिमका पाँच परिवारले छठ पूजा गर्थे । कोरोना महामारीका कारण गत वर्ष छठ रोकिएपछि ती परिवार वीरगञ्ज गएर छठ मनाउन थालेको समिति सदस्य सिंहले सुनाउनुभयो ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको सुरुआत भएको अनुयायीको भनाइ छ । यस वर्ष कार्तिक शुक्ल षष्ठी अर्थात् कात्तिक २४ गते बुधबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् कात्तिक गते बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । यसैगरी कमलपोखरीमा यस वर्ष काठमाडौँ महानगरपालिकाकै संयोजनमा छठ पर्व मनाइने भएको छ । रानीपोखरीमा भने छठ पूजा नहुने जनाइएको छ ।