भूमि आयोगका चार सदस्यद्वारा शपथ

भूमि आयोगका चार सदस्यद्वारा शपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय भूमि आयोगका चार सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा मन्त्रालयमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग नवनियुक्त सदस्यहरु राघोराय यादव (रौतहट), वासुदेव हुमागार्इं (काभ्रे), टेकबहादुर शाह (डोटी) र दाताराम खनाल (इलाम)ले शपथ लिनुभएको हो ।

सो अवसरमा मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको गठनको उद्देश्य एवं संविधानको भावना र मर्मअनुसार काम गर्न आयोग पदाधिकारीलाई निर्देशन दिनुभयो । आगामी दिनमा फेरि आयोग गठन गर्नुपर्ने तथा भूमिसम्बन्धी विषयमा हात हालिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने ढङ्गले काम गर्न पनि उहाँले सुझाव दिनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “भूमिहीन दलित, भूमिहीन र सुकुम्बासीको समस्या समाधान होस् भन्ने सोचका साथ मन्त्रालयले कार्ययोजना तर्जुमा गरी दिशा निर्देशित गरेकाले सोही अनुसार व्यवहारमा देखिने र नागरिकले अनुभूति पाउने ढङ्गबाट काम होस् ।”

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेयले तोकिएको समयभन्दा अगावै काम सम्पन्न गर्न आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । आयोगका अध्यक्ष निरौलाले सरकार र मन्त्रालयबाट आएको मार्गनिर्देशनलाई इमान्दार भएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जनतालाई भूमिहीनताको अवस्थाबाट अन्त्य गर्न सरकार र मन्त्रालयको चाहनाअनुसार काम गरेर अगाडि बढ्ने बताउनुभयो । नवनियुक्त सदस्य दाताराम खनालले भूमिहीनताको समस्या जटिल रहेको हुँदा समस्या समाधानका लागि ठोस परिणाम देखिने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।