रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्ससँग टेलिफोन वार्तामा द्विपक्षीय सम्बन्ध र साइबर सुरक्षालगायत अन्य मुद्दाहरूमा छलफल गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार जानकारी दिएका छन् ।
सो अवसरमा दुवै पक्षले द्विपक्षीय तथा कूटनीतिक सम्बन्धमा देखा परेको सङ्कटको स्थिति र क्षेत्रीय द्वन्द्वका बारेमा विचार आदानप्रदान गरेको पेस्कोभलाई उद्धृत गर्दै मिडियाले बताएका छन् । पेस्कोभले पुटिन र बर्न्सले साइबर सुरक्षाका मुद्दाहरूलाई पनि सम्बोधन गरेको बताएका छन् । बर्न्सले रुसी राजधानीको आफ्नो भ्रमणका क्रममा मङ्गलबार मस्कोमा रुसी विदेशी गुप्तचर सेवाका निर्देशक सर्गेई नारिस्किनसँग भेट गरेको बताइएको छ । मङ्गलबार पनि, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले मस्कोमा बर्न्ससँग “रूसी–अमेरिकी सम्बन्धमा छलफल“ गर्न वार्ता गरेका थिए ।
यो पनि – भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप विरुद्ध रुसको ऐक्यबद्धता
ल्याटिन अमेरिकी राष्ट्रको आन्तरिक मामिलामा विदेशबाट हस्तक्षेप गर्ने कुनै पनि प्रयासको विरोध गर्ने भेनेजुएला सरकारसँग मस्कोले ऐक्यबद्धता व्यक्त गरेको छ।
रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले बाह्य दबाब र अवैध एकपक्षीय प्रतिबन्धको द्वारा भेनेजुयलाको आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेपको विरोध गर्दै राष्ट्रपति निकोलस मदुरोको पक्षमा ऐक्यबद्धतामा व्यक्त गर्नुभएको छ। भेनेजुएलाका आफ्ना समकक्षी फेलिक्स प्लासेन्सियासँग भेटघाटमा मन्त्री सर्गेइले मस्कोले राष्ट्रिय संवादलाई बढावा दिन भेनेजुयलाको प्रयासलाई थप समर्थन गर्ने विश्वास दिलाउनु भएको छ।
“हामी तपाईंको देशको थप विकासको मार्ग स्वतन्त्र रूपमा निर्धारण गर्ने तपाईंको इच्छालाई पूर्ण समर्थन गर्दछौं र राज्यहरूको सार्वभौमसत्ताको सम्मान, संयुक्त राष्ट्रको केन्द्रीय भूमिकाको सम्मान, र गैर-हस्तक्षेप जस्ता आधुनिक आधारभूत मान्यतामा प्रतिबद्ध छौं।”, मन्त्री सर्गेइले बताउँनुभएको छ । भेनेजुएला २०१९ को शुरुदेखि नै राजनीतिक संकटमा फसेको छ । जब विपक्षी नियन्त्रित राष्ट्रिय सभाका पूर्व प्रमुख जुआन गुएइदोले पुनः निर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई हटाउने प्रयासमा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए।अमेरिकाको नेतृत्वमा रहेका अधिकांश पश्चिमी देशहरूले गुएइदोलाई समर्थन गरेर भेनेजुयलामा तेल र वित्तीय उद्योगहरूलाई लक्षित गर्दै जटिल प्रतिबन्धहरू लगाएका छन्। यद्यपि रुस, चीन, टर्की लगायत अन्य थुप्रै राष्ट्रहरूले मादुरोलाई समर्थन गरेका छन्।



प्रतिक्रिया