स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताउनुभएको छ । विभागले आज यहाँ आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उहाँले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताउनुभयो । उहाँले दरबन्दी थप गरेर विभागको क्षेत्रलाई व्यापक बनाउने समेत बताउनुभयो ।
उहाँले औषधिको मूल्य समायोजन वैज्ञानिक आधारमा गर्नेबारे मन्त्रालयमा छलफल भइरहेको धारणा राख्नुभयो । मन्त्री खतिवडाले सबैलाई सहज हुने गरी औषधिको मूल्य निर्धारण हुने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले सीमित दरबन्दीमा सञ्चालन भएको विभागको दरबन्दी बढाउनुपर्ने बताउनुभयो । उहाँले औषधिको मूल्य समायोजनका लागि समिति गठन गर्ने जानकारी दिनुभयो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कम जनशक्तिका कारणले विभागले औषधिको अनुगमन गर्न नसकेको बताउनुभयो । उहाँका अनुसार २०३६ सालमा स्थापना भएको विभागमा ११५ जना दरबन्दीमा ७६ जना मात्र कर्मचारी रहेका छन् । उहाँले २०७२ सालमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ३२८ जनाको दरबन्दी प्रस्ताव गरे पनि अझै स्वीकृत नभएको बताउनुभयो । उहाँले कम दरबन्दीले गर्दा विभागले राम्रोसँग काम गर्न नसकेको बताउनुभयो । विभागमा २० हजार ब्रान्डका औषधि र १५ हजार व्यवसायी दर्ता भएका छन् ।



प्रतिक्रिया