स्थानीय तहमा कानूनी साक्षरता अभियान सञ्चालन

स्थानीय तहमा कानूनी साक्षरता अभियान सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा, २३ कात्तिक (रासस)ः उच्च अदालत बार एशोसिएशन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता अभियान थालेको छ । कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताउनुभयो । ‘‘कुन विषय र मुद्दामा कस्तो कानुन आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूणीकरणमा सहयोग पुग्छ, काम विशेषले आएकाको खर्च पनि जोगिन्छ’’, उहाँले भन्नुभयो, ‘‘यो विषय जनतालाई बुझाउनैपर्ने भएको छ ।’’ लामो समयदेखि बारले यस्ता गतिविधि गरेको थिएन ।

यो अभियानमार्फत बारले सबै पालिकाको न्यायिक समितिलाई समेत जागरुक बनाउन खोजेको अध्यक्ष अखिलनाथ शर्माले बताउनुभयो । ‘‘आफ्नै कार्यक्षेत्रबारे न्यायिक समितिका पदाधिकारी अन्योलमा छन्, अव हामीले सल्लाह दिन खोजेका हौं,’’ उहाँले भन्नुभयोे, ‘‘न्याय निरुपणका लागि अल्मलिएका जनप्रतिनिधिलाई पनि सहज हुनेछ ।’’

स्थानीय तहमा उपप्रमुख तथा उपाध्यक्ष नेतृत्वमा न्यायिक समिति छ । उक्त समितिलाई न्याय निरुपणको अधिकार छ । तर पछिल्लो समय अधिकांश समितिले काम गर्न सकेका छैनन् । जनतालाई पनि न्यायिक विश्वास नभएर प्रहरीदेखि अदालतसम्म पुग्ने गरेका छन् । बारले ज्यानसम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेद्भावसम्बन्धी कानूनी साक्षरता दिन थालेको हो । बारले ताराखोला गाउँपालिकामा ८० जनालाई साक्षरता दिइसकेको खड्काले जानकारी दिनुभयो । अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस, लिखत पारित र कार्यविधिसम्बन्धी धेरै विषयमा साक्षरता अभियान चलाउन बारले पाठ्यक्रमसमेत बनाएको हो ।

व्यक्तिगत घटना दर्तादेखि स्थानीय तहको काम कर्तव्य र अधिकार विषयमा पनि पाठ्यक्रम बनाएर विभिन्न कार्यक्रम गर्ने बारले निर्णय गरेको खड्काले जानकारी दिनुभयो । स्थानीय तह गठनपछि बारले कुनैपनि कार्यक्रम गरेको थिएन । कार्यक्रम नगर्दा जनप्रतिनिधि पनि अन्योलमा परेको र जनतामा सचेतना अभियान जान सकेको थिएन । अझै २०७४ सालदेखि लागूभएको नयाँ मुलुकी देवानीसंहिताको व्यवस्थाबारे सर्वसाधारण र जनप्रतिनिधि समेत अन्योलमा थिए ।

‘‘हामीले थाहै नपाएका धेरै विषय जान्ने अवसर मिलेको छ’’, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, ‘‘यस्ता विषय जनप्रतिनिधि र सामाजिक अगुवामा मात्र सीमित नगरी वडा तहमा पु¥याउनुपर्छ ।’’ बारले दशवटै पालिकामा यो अभियान लैजाने र आवश्यकता अनुसार अन्य समुदायमा पनि जाने तयारी गरेको हो । बारले मानवअधिकारलगायतका क्षेत्रमा पनि आफ्ना क्रियाकलाप गर्ने गरी समिति गठन गरेको छ । विभिन्न ११ वटा विषयगत समिति बनाएर बारले आम नागरिकमा कानूनी विषय र अदालती प्रक्रियालाई सहजै बुझ्ने बनाउन लागेको हो । यस अघिको कार्यकालमा बारमा विवाद बढ्दा आन्तरिक किचलोसँगै जनतामा समेत साक्षरता पुग्न सकेको थिएन ।

गोठालाबिना सुनसान पाटन

छ महिनादेखि चरीले जस्तै गुँड बनाएर बसेका गोठाला असोज ५ गते बँेसी झरे । गोठभरिका गाईभैँसी, घोडा गोठालासँगै बेँसीका फाँटमा रमाउन थालेका छन् । एकाध भेडीगोठबाहेक पाटन सुनसान छ ।

शरद ऋृतुको रौनक निसीखोला र ढोरपाटनका बेँसीमा छ । वर्षा ऋतुमा भरिभराउ हुने बुकी र पाटन पहेँलपुर फुलेका बुकी र अनेकौं प्रजातिका फूलले सिगारिएका छन् । बागलुङको निसीखोला र ढोरपाटन नगरपालिकाका अधिकांश किसान घुम्ती गोठ बस्छन् । छ महिना बेँसीमा खेतीपाती गरेर बस्तुभाउ पाल्ने किसानको आधावर्ष लेकमा बित्छ । वर्षाको समयमा लेकका घाँसे मैदानमा बस्तु भाउसँगै रमाउने उनीहरु हिउँदमा भने खेतबारीको लागि गोबर मल पु¥याउन गोठ बेँसी झार्ने गरेका छन् । ढोरपाटन सिकार आरक्ष क्षेत्र आसपासका ठूला फाँटलाई पाटन भनिन्छ । त्यहीँ पाटन र बुकी किसानका गोठ राख्ने र आधा वर्ष कटाउने थलो हुन् ।

निसी खोलाकी खरिमाया घर्तीमगर छ महिनापछि घर फर्किनुभयो । गत वैशाखमा गाईभैँसी, गोरु लिएर चरण क्षेत्रमा पुग्नुभएकी घर्ती आफ्ना सम्पत्ति गाईभैँसी, गोरु र भोटेकुकुर लिएर असोज ५ गते नै बेँसी आउनुभएको हो । उहाँ जस्तै उहाँको गाउँका अधिकांश गोठाला बँेसी झरिसकेका छन् । उहाँ झण्डै तीन दर्जन बस्तुभाउ लिएर माइलो छोरासँग छ महिना पाटनमा बस्नुभयो । गर्मी महिनामा गाउँ छोडेर बुकी र पाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारी चौर बोबाङ, निसी, देवीस्थान, बुर्तिबाङ झरेपछि गाउँमा चहलपहल बढेको छ । चिसो छल्न र खेतबारीमा मल प्ु¥याउन बेँसी झरेका नफर्किने बेलासम्म बुकी र पाटन सुनसान भएको ज्योति विकास आधारभूत विद्यालय ढोरपाटनका प्रधानाध्यापक चकबहादुर अदैले बताउनुभयो ।

ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक किसान र पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका छन् । निसीको पाटन क्षेत्र पनि सुनसान नै छ । हिउँदको बाली लगाउन गाईभैँसी, भेडा लिएर तल झरेका किसान वैशाखमा फेरि बुकी जान्छन् । गोठाला बँेसी झरेपछि ढोरपाटनको नवी, स्यालपाखे, पाखाथर, भुजी, निसेलढोर, छेन्तुङका घर तालाचाबी लगाएका छन् । तिब्बती शरणार्थीबाहेक अन्य स्थानीयवासी लेकबेँसी गर्छन् ।

गाउँ, ढोरपाटन र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाले वर्ष गुजार्छन् । तल्लो क्षेत्रमा मकै, गहुँ, ढोरपाटन क्षेत्रमा आलुबाली लगाएपछि गोठाला चार महिनालाई खाना पुग्ने खर्च लिएर बुकी जान्छ । गर्मी मौसममा बस्तुभाउको लागि आवश्यक घाँस बुकीमा पाउने हुँदा पशुपालन क्षेत्रमा आबद्ध ढोरपाटन र निसीबासी घुम्ती बसाइँमा निस्कने स्थानीय श्यामकुमार विकको भनाइ छ ।

हिउँदमा हिमपात र जाडो बढ्ने भएकाले जाडो छल्न बेँसी झरेको किसान तमबहादुर कायतको भनाइ छ । पुर्खाले सुरु गरेको चलनलाई नयाँ पुस्ताले पनि पछ््याएका छन् । वैदेशिक रोजगार र अध्ययन तथा रोजगारको लागि सदरमुकाम तथा जिल्ला बाहिर जाने युवाबाहेक गाउँमा बस्ने जवान पनि लेकबेँसी गर्छन् ।

भेडी गोठ भने हिउँदको समयमा पनि लेकमा नै राख्ने गरिएको छ । भेडाको उनबाट यहाँका किसानले राम्रो आम्दानी गर्छन् । बेँसीमा चरण क्षेत्र नहुने भएकाले भेडीगोठ बँेसी नआउने किसान बताउँछन् ।