सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८०० जनाको नमूना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार १४ जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १४ र एन्टिजेनमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेशभर १३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । उक्त अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७२ वर्षीया महिलाको ज्यान गएको हो । सोमबार प्रदेशमा ३० जनाका कोरोना सङ्क्रमण पुष्टि भएको हुनाका साथै ३० जना सङ्क्रमण मुक्त भएका थिए ।
यो पनि – प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा सङ्क्रमित
पछिल्लो २४ घण्टामा प्रदेश नं १ सबैभन्दा बढी मोरङमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा दुई, सङ्खुवासभा र उदयपुरमा एक/एक जना गरी कूल ९५ जनामा सङ्क्रमण देखिएको हो ।
सो सङ्क्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० को एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा आजै १७ महिलासहित ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने चार महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया