सुदूरपश्चिम प्रदेशमा दसैँ तिहारको एक महिनाको अवधिमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । गत असोज २१ गतेदेखि कात्तिक २१ गतेसम्म प्रदेशभर ८१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमका अनुसार सो अवधिमा दुर्घटनामा परी प्रदेशभर एक सय १३ जना घाइते भएका थिए । सबैभन्दा बढी ४९ मोटरसाइकल, १४ जिप र कार, चार टेम्पो, तीन ट्याक्टर, दुई बस तथा अन्य सवारीसाधन दुर्घटना भएका थिए ।
“साना सवारीसाधनका चालकले लापरवाही गर्दा बढी दुर्घटना भएका थिए”, प्रहरी उपरीक्षक गौतमले भन्नुभयो, “चालकले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउँदा, सडक साघुँरा हुँदा तथा सडकमा खाल्डाखुल्डी भएका कारण दुर्घटना बढी हुने गरेको पाइएको छ ।” क्षमताभन्दा बढी यात्रु बोक्दा पनि सवारीसाधन दुर्घटनामा पर्ने गरेको पाइएको छ । “सवारीसाधनको अवस्था नजाँचिकनै चलाउँदा पनि दुर्घटनाको कारण बन्ने गरेको छ”, उहाँले भन्नुभयो ।
यो पनि – जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो
म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा आज भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । बागलुङको तमानखोलादेखि म्याग्दीको दरबाङ जाँदै गरेको ध१च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना हुँदा चार जना घाइते भएका थिए ।दुर्घटनाका घाइते तमानखोला गाउँपालिका–४ का ७२ वर्षीय पोपसरा बुढामगर, १३ वर्षीया हेलिस बुढामगर, ३० वर्षीय मिलन बुढामगर र ४२ वर्षीय टकसरा बुढामगरलाई प्रभु एयरको हेलिकोप्टरबाट काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।
प्रहरी निरीक्षक सन्तोष पौडेलले ब्रेक फेल भएर दुर्घटना भएको बताउनुभयो । उहाँका अनुसार ब्रेक फेल भएपछि चालकले गाडीलाई सडकको कुनातर्फ ठोक्काएका थिए । तीन जना घाइतेको स्वास्थ्य अवस्था सामान्य छ । ढाड र टाउकोमा चोट लागेर घाइते भएका १३ वर्षीय हेलिस पनि खतरामुक्त रहेका प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । घाइते सबै एउटै परिवारका हुन् । इलाका प्रहरी कार्यालय दरबाङका सुरक्षाकर्मी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । घाइतेका आफन्तले हेलिकोप्टर मगाएर काठमाडाँै गएका हुन् ।
यो पनि – पोखरेमा माइक्रोबस दुर्घटना ः १९ जना घाइते
सिन्धुपाल्चोकको सागाचोकअन्तर्गत पोखरेमा आज अपराह्न माइक्रोबस दुर्घटना हुँदा १९ घाइते भएका छन् । घाइतेलाई काभे्रको धुलिखेल अस्पतालमा पठाइएको र ती मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
चौताराबाट काठमाडैँ जाँदै गरेको बा२ख २६१२ नम्बरको माइक्रो बस अनियन्त्रित भई सडकबाट करिब आठ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका तीन बालबालिकासहित २० जना सवार रहेकोमा एक जना सकुशल रहेको छ । दुर्घटनाको बारेका अनुसन्धान भइरहेको बताइएको छ ।
यो पनि – गर्भवतीको हवाई उद्धार
प्रसूति गराउँँदा गम्भीर स्वास्थ्य समस्यामा परेकी अछामको पञ्चदेवल विनायक नगरपालिका–१ की मनसरा देवकोटाको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट उहाँको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तेस्रो पटकको प्रसूतिमा गम्भीर समस्या भएपछि विनायकबाट रेफर गरिएको बताइएको छ । हेलिकोप्टरमार्फत कोहलपुर शिक्षण अस्पतालमा प्रसूति सेवाका लागि लगिएको छ ।



प्रतिक्रिया