द्वन्द्वले ठूलो सङ्ख्यामा कङ्गोका बासिन्दा युगान्डा छिरे

द्वन्द्वले ठूलो सङ्ख्यामा कङ्गोका बासिन्दा युगान्डा छिरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कम्तिमा ११,००० व्यक्तिहरू पूर्वी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट हालै भड्किएको द्वन्द्वबाट बच्न युगान्डा छिरेका छन् । संयुक्त राष्ट्रसङ्घ शरणार्थी एजेन्सीले मङ्गलबार बताएअनुसार यो सङ्ख्या युगान्डामा वर्षभरिमा हुनेभन्दा ठूलो शरणार्थी आगमन हो ।

एजेन्सी प्रवक्ता साबिया मन्टुले दिएको जानकारीअनुसार ती व्यक्तिहरूमा धेरैजसो महिला र बालबालिका छन् । प्रवक्ता मन्टुले जेनेभामा एक ब्रिफिङ्गमा बताएअनुसार “पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जारी द्वन्द्वले आइतबार रातिदेखि कम्तीमा ११,००० मानिसहरूलाई सीमा पार गरेर युगान्डा भाग्न बाध्य बनाएको छ ।”

उत्तरी किभुको रुत्सुरु क्षेत्रमा मिलिसिया समूहहरू र कङ्गोको सशस्त्र सेनाहरू बीच लडाइँ जारी छ । करिब ८,००० शरणार्थीहरूले बुनागाना सहर र थप ३,००० ले किबाया सीमा बिन्दु पार गरेका छन् जुन युगान्डाको राजधानी कम्पालाबाट ५०० किलोमिटर (३०० माइल) दक्षिणपश्चिममा पर्दछ ।

धेरै मानिसहरू खाना पकाउने भाँडाकुँडा, सुत्ने म्याट, लुगाफाटा र गाईवस्तु लिएर भागेको प्रवक्ता मन्टुले बताएका छन् । संदिग्ध विद्रोहीहरूले आइतबार राति सेनाको क्याम्पमा आक्रमण गरेर स्थानीयलाई भयभीत पारेका थिए । कङ्गोली सेनाले एम ३३ भनिने विद्रोही समूहलाई यो आक्रमणको दोषी ठहराएको छ । यो समूह त्यहाँ द्वन्द्वरत १२० भन्दा बढी सशस्त्र समूहहरूमध्ये एक हो ।

यूएनएचसीआरले करिब ५०० शरणार्थीहरूलाई न्याकाबन्दे ट्रान्जिट सेन्टरमा स्थानान्तरण गरेको छ जहाँ १,५०० जनासम्म अटाउन सक्छन् । युगान्डाले करिब १५ लाख शरणार्थीहरूलाई आश्रय दिएको छ । अफ्रिकन देशहरूमा सबैभन्दा बढी शरणार्थीलाई युगान्डाले आश्रय दिएको छ जसमा करिब चार लाख चालीस हजार शरणार्थी डेमोक्रेटिक रिपब्लिक कङ्गोबाट भागेर आएका छन् ।

यो पनि – श्रीलङ्कामा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

श्रीलङ्कामा परेको भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने ७,००० मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले मङ्गलबार जनाएअनुसार विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको छ ।आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको थियो । साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो ।

मङ्गलबार बिहानसम्म ७ हजार मानिस प्रभावित भएको र ७९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन् । श्रीलङ्काको नौसेनाले मौसमसम्बन्धी प्रकोपको अवस्थामा खोज र उद्धार कार्यका लागि बाढी प्रभावित क्षेत्रमा राहत टोली खटाएको जनाएको छ ।