सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा यसअघिको मूल्यमा प्रतिलिटर रु तीनले बढाइएको छ । नेपाल आयल निगम लिमिटेडको सञ्चालक समितिको आजको बैठकले रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर रु ७५ बढाएर १५ सय ७५ पुगेको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर रु १३६ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर मूल्य रु ११९ कायम भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर रु पाँच बढेर १०१ कायम गरिएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेकोे निगमका सहप्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समायोजन मूल्यपछि पनि १५ दिनमा निगमलाई रु दुई अर्ब ६२ करोड घाटा हुने जारी विज्ञप्तिमा भनिएको छ । निगगले यही कात्तिक १२ गते पनि इन्धनको मूल्यवृद्धि गरेको थियो ।
यो पनि – कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिनका लागि एक हजार ९९९ प्रतिनिधि छनोट हुनेछन् ।
एमालेले महाधिवेशन प्रतिनिधि छनोटका लागि यही कात्तिक २७ गते देशभरका कमिटीका निर्वाचन तोकेको छ । सो पार्टीको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । हाल एमालेका सात लाख ३० हजार सङ्गठित सदस्य रहेका छन् । एमालेले बाँकी रहेका पालिका वा वडा अधिवेशन यही कात्तिक २५ गतेभित्र सक्न यसअघि निर्देशन दिइसकेको छ ।
एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मङ्सिर ११ गते विद्युतीय उपकरणका माध्यमबाट केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन सुरु हुने उल्लेख गर्दै सौराहामा बन्दसत्र, भोजन, आवासलगायतका व्यवस्थापन हुने जानकारी दिनुभयो । उहाँले नारायणी किनारमा अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटन सत्रमा चितवन आसपासका समेत गरेर पाँच लाख नेता कार्यकर्ताको सहभागिता गराइने जनाउनुभयो । उहाँले प्रचारप्रसार पूर्णरूपमा डिजिटल गरिने भएकाले भित्तेलेखन आदि नगरिने बताउनुभयो । एमालेले नेता रामबहादुर थापाको संयोजकत्वमा २३ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको थियो ।



प्रतिक्रिया