जनगणनामा सही विवरण टिपाउन मुख्यमन्त्री पोखरेलको आग्रह

जनगणनामा सही विवरण टिपाउन मुख्यमन्त्री पोखरेलको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, २४ कात्तिक (रासस) : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जनगणनाका लागि आउने सुपरीवेक्षक वा गणकलाई सही विवरण टिपाउन प्रदेशवासीमा अनुरोध गर्नुभएको छ । राष्ट्रिय जनगणना, २०७८ का अवसरमा आज अपिल जारी गर्दै उहाँले सही तथ्याङ्कले प्रदेश सरकारलाई योजना बनाउन सजिलो हुने र त्यसको फाइदा प्रदेशवासीलाई नै हुने उल्लेख गर्नुभएको छ । नेपालमा १२ औँ जनगणना यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुँदैछ ।

देशले सङ्घीय शासन प्रणाली अङ्गालेपछिको यो पहिलो जनगणना भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले यसपटकको जनगणनाको खास महत्व रहेको बताउनुभयो । प्रदेश भनेको सङ्घीयताले जन्माएको नयाँ प्रणाली रहेको र प्रदेशमा आधारित भएर हालसम्म यति ठूलो कुनै पनि अध्ययन अनुसन्धान नभएको भन्दै उहाँले २०७२ सालमा संविधान जारी भएसँगै प्रदेशको स्थापना भए पनि हाम्रो तथ्याङ्क नरहेको उल्लेख गर्नुभएको छ ।

विसं २०६८ मा राज्यको पुरानो संरचनाअन्तर्गत गरिएको जनगणनाका तथ्याङ्कलाई नै उपयोग गरेर वर्तमानसम्म आइपुगेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अपिलमा यस जनगणनाले नेपालमा पहिलोपटक प्रादेशिक नमूनामा आधारित जनसङ्ख्या तथ्याङ्क उपलब्ध गराउने र यो खुसीको कुरा भएको बताउनुभएको छ । प्रदेशको जनसङ्ख्या कति, कुन कुन जातिको बसोबास, कुन धर्म र संस्कृतिका मानिस कति, कुन भाषा बोल्ने मानिसको बाहुल्यताजस्ता विषयका साथै सामाजिक बहिस्करणमा परेका समूह दलित, जनजाति, अल्पसङ्ख्यक लोपोन्मुख महिला, अपाङ्गता भएका व्यक्ति आदिको जनसङ्ख्याको अवस्थालगायतका विषयमा यस जनगणनाले छर्लङ्ग पार्ने मुख्यमन्त्री पोखरेलले अपिलमा भन्नुभएको छ ।

जनगणनाबाट आउने यही तथ्याङ्कलाई आधार बनाएर सम्बन्धित जाति, धार्मिक, समुदाय, महिला वा अपाङ्गता भएका व्यक्तिका लागि प्रदेश सरकारले नीति र कार्यक्रम बनाउने अपिलमा भनिएको छ ।

यसपटकको जनगणनामा रोजगार, बेरोजगार, बैंक तथा वित्तीय संस्थामा पहुँचको अवस्था, सरकारी अनुदान प्राप्त गरेको, नगरेको, वडा तहसम्म सामुदायिक भवनको अवस्था के छ कस्तो छ, जस्ता मसिना तर नागरिकका लागि अति महत्वपूर्ण विषयका प्रश्नावली पनि समेटिएको छ । जनगणनाको तथ्याङ्क सङ्कलनको पहिलो चरणअन्तर्गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म सुपरीवेक्षक सबैको घरदैलोमा पुगी घर तथा परिवार सूचीकरण कार्य सम्पन्न भइसकेको छ ।

जनगणनाका क्रममा टिपाएका तथ्याङ्क गोप्य रहने उल्लेख गर्दै मुख्यमन्त्रीले यस्ता विवरण गोप्य नराख्ने वा गोपनीयता भङ्ग गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने बताउनुभएको छ । आफूले टिपाएको विवरणको गोपनीयता नरहने हो कि भनेर कसैले द्विविधा लिनु नपर्ने बताउँदै उहाँले आफ्ना घरमा तथ्याङ्क सङ्कलन गर्न आउने गणकलाई आत्मीय व्यवहार गर्न पनि आग्रह गर्नुभएको छ ।

“गणकले सोधेका सबै प्रश्न धैर्यपूर्वक सुनेर सही जवाफ दिन प्रदेश सरकार सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु”, अपिलमा भनिएको छ । केन्द्रीय तथ्याङ्क विभागले यस जनगणनाको नारा ‘मेरो जनगणना मेरो सहभागिता’ राखेको छ । यो नारालाई सार्थक बनाउन सम्पूर्ण प्रदेशवासीले जनगणनालाई अपनत्व लिएर गणकलाई सही विवरण टिपाएर सहयोग गर्न मुख्यमन्त्रीले पोखरेलले अनुरोध गर्नुभएको छ ।