प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ । तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।
यही कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीश राणामाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सर्वोच्च अदालतमा कात्तिक ८ गतेयता मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको उल्लेख गर्दै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।
यो पनि – प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी
प्रधानमन्त्री शेरबहादुर देउवाले १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।
केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिकरूपमा सन्देश दिनका लागि तथ्याङ्क लिइएको उहाँले उल्लेख गर्नुभयो ।
निर्देशक लामिछानेका अनुसार विभागका महानिर्देशकले प्रधानमन्त्रीको पारिवारिक विवरण सङ्कलन गर्नुभएको थियो । राष्ट्रिय योजना आयोगका सचिवले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराउनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गरेर आजदेखि देशभर १२औँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भ भएको हो । राष्ट्रपतिपछि प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजैबाट देशभर जनगणना सुरु गरिएको छ । राष्ट्रिय जनगणना अभियान कात्तिक २५ देखि सुरु भई मङ्सिर ९ गतेसम्म १५ दिनको कार्यक्रममा रहने र गणकहरूले हरेक नेपालीको घरदैलोमा पुगेर गणना गर्नेछन् ।
जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ । दार्चुलाको लिम्पीयाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ ।
प्रतिक्रिया