जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह

जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनगणनालाई सफल बनाउन राज्य, सरकार र नागरिक संवेदनशील हुनुपर्ने बताउनुभएको छ । उहाँले आज जारी गर्नुभएको सन्देशमा यस राष्ट्रिय अभियानमा सत्यतथ्य सूचना उपलब्ध गराएर सहयोग गर्न सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।

आगामी दिनमा मुलुकमा विकास तथा निर्माणका साथै नागरिकलाई सामाजिक सेवा सुरक्षा र सुविधाको व्यवस्था गर्नका लागि आवश्यक आधारभूत तथ्याङ्क सङ्कलन गर्न जनगणना महत्वपूर्ण माध्यम रहेको केसीद्वारा जारी सन्देशमा उल्लेख छ ।

सन्देशमा निर्वाचन क्षेत्रको निर्धारण गर्न र पुनःसंरचना गर्न जनगणना एउटा महत्वपूर्ण माध्यम भएको भनिएको छ । एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने विश्वास गरिएको जनगणना संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि केसीले सफलताको कामना गर्नुभएको छ । प्रत्येक १० वर्षमा गर्ने गरिएको जनगणना आजदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने छ । विसं १९६८ देखि यसको सुरुआत भएको हो ।

यो पनि – जनगणनाका गणक र सुपरीवेक्षक घरदैलोमा

राष्ट्रिय जनगणना–२०७८ का लागि आजदेखि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका छन् । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सरकारी आवासबाट आज जगणनाको शुभारम्भ गरिएपछि गणक र सुपरीवेक्षक आम नागरिकको घरदैलोमा पुगेका हुन् ।जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख एवं जिल्ला जनगणना समन्वय समिति झापाका संयोजक श्रवणकुमार तिम्सिनाले यथार्थ विवरण सङ्कलनमा सबै पक्षले सहयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गणक र सुपरीवेक्षक परिचालन भएपछि अनुगमन पनि हुन्छ, यस पटकको जनगणना पृथक भएकाले त्यसबारे सबैले बुझ्नु र सहयोग गर्न आवश्यक छ ।”

जिल्लामा जनगणनाका लागि एक हजार ४५२ गणक र सुपरिवेक्षण परिचालन गरिएको छ । जनगणनाका लागि झापामा दुई कार्यालय (बिरीङ नदी पश्चिम दमक र बिरीङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ । जनगणना कार्यालय भद्रपुरका प्रमुख चुणामणि लुइँटेलले दमक कार्यालय अन्तर्गत ११४ सुपरीवेक्षक र ५०५ गणक गरी ६१९ जना परिचालन गरिएको जानकारी दिनुभयो । त्यस्तै, भद्रपुर कार्यालय अन्तर्गत १५१ सुपरीवेक्षक र ६८२ जना गणक परिचालित भएका छन् ।

अक्सर बसोबासको आधारमा जनणगना गरिने भएकाले केही समस्या आउन सक्ने बताउँदै उहाँले भन्नुभयो, “घर भाडामा बस्नेको संख्या छुट्ने चिन्ता छ ।” तर, गणकलाई राम्ररी तालीम दिएकाले त्यस्तो समस्या नहुने विश्वास लिइएको उहाँको भनाइ छ ।यस वर्षको जनगणनामा मातृ मृत्यु अध्ययनसमेत गर्न लागिएको उहाँले बताउनुभयो । “परिवारमा १५ देखि ५९ वर्ष उमेर समूहका महिलाको मृत्यु भएको तथ्याङ्क लिइनेछ”, उहाँले भन्नुभयो, “परिवारको सहमतिमा मृत्युको कारण के हो ? भन्नेबारेमा स्वास्थ्यकर्मीसहितको टोलीले जानकारी लिनेछ ।”यस पटकको जनगणनामा ५५ वटा प्रश्न रहेको जनगणना कार्यालय दमकका प्रमुख प्रेमकुमार घिमिरेले बताउनुभयो ।

“व्यक्तिगत, पारिवारिक र समुदायिक प्रश्नावली रहेका छन्”, उहाँले भन्नुभयो, “तथ्याङ्क सङ्कलनमा यसले ठूलो क्षेत्र समेटेको छ ।”जनगणना सफल बनाउन झापामा प्रजिअदेखि वडाध्यक्षसम्मको सहभागिता हुनेगरी चारवटा समिति गठन गरिएको छ । यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।