पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोरोना सङ्क्रमण पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ कात्तिक (रासस) : देशभर पछिल्लो २४ घण्टामा थप ३१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ६५३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ६० पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ९९५ छ । आज २७९ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ५९ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

छ को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले यस रोगबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय चार हजार ५१६ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ५३५ रहेको छ । होम आइसोलेसनमा सात हजार १०, संस्थागत आइसोलेसनमा ५२५, आइसीयुमा १८८ र भेन्टिलेटरमा ५४ जनाले उपचार गराइरहेका छन् ।

यो पनि – सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

रुपन्देही, २५ कात्तिक (रासस) : बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ । नगर कमिटीले डिभिजन सडक कार्यालयमार्फत व्यापारिक मार्ग विस्तार परियोजना कार्यालय, सम्बन्धित मन्त्रालय, निर्माण कम्पनी र सरकारको ध्यानाकर्षण गराएको हो । नगर कमिटीले गोलपार्कदेखि बेलहिया नाकासम्मको व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत बाँकी खण्डको काम सम्पन्न भए पनि राजमार्ग चौराहाबाट गोलपार्कसम्मको सडकखण्ड वर्षौँसम्म निर्माण नहुँदा यस क्षेत्रको व्यापार व्यवसाय र पर्यटन प्रवद्र्धनमा अवरोध सिर्जना भएको जनाएको छ ।

“ढिलासुस्तीले पर्यावरण र वातावरणमा क्षति पुगेको छ, पर्यटकलाई समेत समस्या भएको छ”, सडक कार्यालयका प्रमुख जयलाल मरासिनीलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ । धुवाँधुलोले बुटवल धुलाम्य हुँदा नागरिकको स्वास्थ्यमा असर पुगेको विज्ञप्तिमा उल्लेख छ । ध्यानाकर्षणपत्र बुझाउँदै नगर कमिटी अध्यक्ष किसन ज्ञवालीले नागरिकको जीवनसँगै बुटवलको गौरव र सुन्दरतासँग गरिएको खेलवाडले पीडावोध गराएको बताउनुभयो ।

“चार–पाँच वर्षसम्म सडक क्षेत्राधिकारभित्रका संरचना हटाउने र सडक क्षेत्राधिकार कायम गरिसकेपछि फेरि यो वा त्यो बहानामा यसको निर्माणमा किन ढिलाइ गरिएको छ ? बारम्बार निर्माण व्यवसायीको म्याद थप्दै जाने र निर्माण व्यवसायीले भने काम नगर्ने अवस्था कहिलेसम्म ?” उहाँले प्रश्न गर्नुभयो । एमालेका नेता गोपाल रानाले सडकमा परेका खाल्डाखुल्डीलाई पुर्ने, सडकको रिसोलिङ गर्नेे र नियमित राजमार्ग सरसफाइ गर्ने काम तत्काल अगाडि बढाउन माग गर्नुभयो ।

ध्यानाकर्षणपत्र बुझ्दै डिभिजन प्रमुख मरासिनीले सडक निर्माणका क्रममा केही स्थानीयवासी अदालत गएपछि अवरोध सिर्जना भएको बताउनुभयो । निर्माण कम्पनीका कारण काममा ढिलाइ भएको उहाँको भनाइ छ । काम अघि नबढाए निर्माण कम्पनीको बजेट रोक्का गर्ने उहाँले बताउनुभयो ।