काठमाडौँ, २५ कात्तिक (रासस) : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका रक्षामन्त्री राजनाथ सिंह र बाह्य मामिलामन्त्री सुब्रमन्यम जयशङ्करसँग आज अपराह्न बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको छ । नयाँदिल्लीस्थित बाह्य मामिला मन्त्रालयमा भएको भेटवार्तामा सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल–भारत सम्बन्धका विविध विषयका साथै पारस्परिक हित र चासोका मुद्दामा विचार विमर्श भएको थियो । “नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । उहाँको यो भ्रमणले हाम्रो सम्बन्धको निकटतालाई प्रस्ट्याउँछ”, बाह्य मामिलामन्त्रीले ट्विट गर्नुभएको छ ।
त्यसैगरी रक्षामन्त्रीसँगको भेटमा नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ÷प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा कार्यात्मकस्तरमा संयुक्त भ्रमण, संयुक्तरूपमा विपद् व्यवस्थापनका विषयमा छलफल भएको बताइएको छ ।
प्रधानसेनापतिले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि आजै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच सुरक्षासम्बन्धी साझा चासोका विषयमा विचार आदान प्रदान भएको जनाइएको छ । यसैबीच, नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजले आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत उहाँलाई ‘वाल अफ अनर’बाट विभूषित गरेको छ । उक्त सम्मान पाउने शर्मा पहिलो व्यक्ति हुनुहुन्छ । सन् २०१३ मा प्रधानसेनापति शर्माले उक्त कलेजबाट प्रतिरक्षा तालिम गर्नुभएको थियो ।
यो पनि – तीन दिनभित्र विवरण उपलब्ध गराउन नेप्सेको निर्देशन
काठमाडौँ, २५ कात्तिक (रासस) : नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ । नेप्सेले खारे इन्भेस्टमेन्टको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरणलगायत लगानीका विविध विषयमा जानकारी मागेको थियो । राधीले ती विषयमा आंशिक मात्रै विवरण दिएर नेप्सेको निर्देशनलाई अवज्ञा गरेको पाइएको छ । नेप्सेको सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्ध सुवोध ढुङ्गेलका अनुसार लगानीको सम्पूर्ण विवरण नदिइएको पाइएकाले तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ बमोजिम तीन कार्य दिनभित्र मागिएको विवरण उपलब्ध गराउन पुनः निर्देशन दिइएको छ । सो समयावधीभित्र विवरण पेश नगरेको पाइएमा धितोपत्रको प्रचलित ऐन, नियमअनुसार कारबाही हुने नेप्सेले जनाएको छ ।



प्रतिक्रिया