सुदूरपश्चिमः थप आठ जनामा सङ्क्रमण, एकको मृत्यु

सुदूरपश्चिमः थप आठ जनामा सङ्क्रमण, एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २५ कात्तिक (रासस) : सुदूरपश्चिम प्रदेशमा बिहीबार थप आठ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १११ जनाको नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर छ र एन्टिजेन विधिमार्फत दुई जनामा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र महाकाली अस्पतालमा दुई जनामा सङ्क्रमण देखिएको हो । यस्तै एन्टिजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर आठ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचारका क्रममा कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ का ७० वर्षीया महिलाको मृत्यु भएको हो ।

यसअघि बुधबार यस प्रदेशमा ६ सङ्क्रमण पुष्टि हुँदा नौ जना निको भएका थिए । यस प्रदेशमा हालसम्म कोरोनाका कारण ६०७ जनाको मृत्यु भइसकेको छ ।

यो पनि – पत्रकार शर्माका परिवारलाई नेजाको सहयोग

कर्णाली, २५ कात्तिक (रासस) : दुई वर्षअघि बोनम्यारो रोगबाट मृत्यु भएका सुर्खेतका पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले आर्थिक सहयोग प्रदान गरेको छ । नेजाका अध्यक्ष विकासराज न्यौपाने, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलसहितको टोलीले आज शर्माको वीरेन्द्रनगरस्थित घरमा पुगेर रु ६५ हजारको चेक हस्तान्तरण गरेको हो । उक्त चेक शर्माकी आमा खगिसरा जैसीलाई हस्तान्तरण गरिएको थियो ।

चेक बुझ्दै स्व पत्रकार शर्माकी आमा खगिसराले छोरालाई बचाउन पत्रकार महासङ्घले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । नेजाका अध्यक्ष न्यौपानेले आफूहरु अमेरिकामा रहेपनि नेपालका सञ्चारकर्मीको सुख–दुःखको सारथी बनेको बताउनुभयो ।

महासङ्घ केन्द्रीय अध्यक्ष पोखरेलले नेजाले नेपाली पत्रकार र उनीहरुका परिवारलाई विभिन्न सहयोग गर्दै आएकोमा कृतज्ञता व्यक्त गर्नुभयो । स्व पत्रकार शर्मा सुर्खेतमा रहेर साझा बिसौनी दैनिक र देश सञ्चार अनलाइनमा कार्यरत हुनुहुन्थ्यो । २३ वर्षीय शर्माको विसं २०७६ कात्तिक २८ गते उपचारको क्रममा काठमाडौँको सिभिल अस्पतालमा निधन भएको थियो ।