राष्ट्रिय परिचयपत्र व्यवस्थापन जिल्लास्तरीय समन्वय समितिद्वारा मोरङको सुनवर्षी नगरपालिकामा आयोजित ‘राष्ट्रिय परिचयपत्र वितरण, सङ्कलन, अभियान एवम् तालिम अभिमुखीकरण कार्यक्रम आज सम्पत्र भएको छ । जनताको घर दैलोमा सेवा पु¥याउने उद्देश्यले आयोजित सो कार्यक्रममा परिचयपत्रको विवरण सङ्कलन रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकामा हुने भनिएको छ । यसअघि मोरङको रङ्गेली नगरपालिका र धनपाल थान गाउँपालिकामा सो कार्य सम्पत्र भइसकेको छ । सरकारले यसवर्ष मोरङमा लगभग ४३ हजार नागरिकको विवरण सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
नेपाली नागरिकताभन्दा पनि महत्वपूर्ण मानिएको राष्ट्रिय परिचयपत्रले सवारी चालक अनुमतिपत्र, सम्पत्तिको कारोबार, नागरिकको परिचय, मतदाता नामावली, सामाजिक सुरक्षा, बैकिङ्ग तथा वित्तीय संस्थामा सेवा लिन उपयोग हुनुका साथै अपराध अनुसन्धान, स्वास्थ्य सेवा, व्यक्त्तिगत घटना दर्ता, राजस्व सङ्कलन, राहदानी प्राप्ति र युटिलिटी सेवा, सुशासन तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा निकै उपयोगी हुने परिचयपत्रमा खटिएका कर्मचारी योगेश पराजुलीले जानकारी दिनुभयो ।
उहाँले २०७५ सालदेखि लागु भएको यो व्यवस्थाअनुसार ७७ जिल्लाका नेपाली नागरिकता भएका नागरिकलाई यो परिचयपत्र वितरण गर्ने सरकारको योजनाअनुसार हालसम्म १७ वटा जिल्लामा परिचयपत्रका लागि विवरण सङ्कलन गर्ने काम सम्पत्र भइसकेको छ । यसवर्ष १६ वटा जिल्लाबाट ७० लाख नागरिकको विवरण सङ्कलन गर्ने कार्य चालु अवस्थामा रहेको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रको यो महत्वपूर्ण कार्यमा सबै जनप्रतिनिधिले सहयोग गर्नु पर्ने भन्दै छरिएर रहेका अभिलेखलाई एकीकृत गर्न राष्ट्रिय परिचयपत्रले ठूलो भूमिका निर्वाह गर्नेछ भन्नुभयो । सुनवर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले राष्ट्रको यो अभियानमा सहयोग गर्ने बताउनुभयो । उपप्रमुख मञ्जुकुमारी राईले नेपाली नागरिकताभन्दा पनि बहुउपयोगी यो परिचयपत्र सरकारले छिट्टै वितरण गर्नुपर्ने बताउनुभयो । –––
यो पनि – धान खेतमै पुगेर जनगणना
जनगणनामा खटिनुभएकी गणक झापा भद्रपुर नगरपालिका–६ की लक्ष्मी राजवंशी धान खेतमै गएर जनगणनाको फाराम भरिरहेको भेटिनुभयो । खेतमा धान काटिरहेकी पुष्पा रिमालको घरमा पुग्दा उहाँ घरमा नभेटिएपछि नजिकैको खेतमै पुगेर राजवंशीले जनगणनाको फाराम भर्नुभयो । पहिलो चरणको गणनामा नाम छुटेकी भद्रपुर–६ की आस्मा खातुनको विवरणसमेत राजवंशीले सोही बेला टिप्नुभयो ।
“घरमा मान्छे नभेटिएपछि सोधी खोजी गरेर उहाँहरु जहाँ हुनुहुन्छ, त्यहीँ गएर फाराम भर्ने गरेकी छु”, उहाँले भन्नुभयो, “कोही नछुट्ने गरी काम गरिरहेका छौँ ।” गणनाका लागि जाँदा केही समस्या आउने गरेको उहाँको भनाइ छ । “केहीले उमेर भन्न मान्दैनन्, केहीले अन्दाजी यति उति लेखिदिनु भन्छन्”, उहाँले भन्नुभयो, “डेरामा बस्ने मान्छे घरमा भेटिँदैनन्, मोबाइल नम्बर पनि घरबेटीसँग माग्दा नपाइएको अवस्था छ ।”
बिर्तामोड नगरपालिकामा घरभाडामा बस्ने मानिसको सङ्ख्या धेरै छ । इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरीलगायतका जिल्लासँगै भारतबाट व्यवसाय–मजदूरी गरेर बस्नको सङ्ख्या धेरै छ ।
जनगणनामा खटिएका बिर्तामोड–४ का नवेश गुरुङले एउटै घरमा पाँच÷छ परिवार घरभाडामा बस्दै आएको पाइएको बताउनुभयो । “कर उठाउन, भाडा बढाउन, चुनावका लागि विवरण लिन आएको भन्ने मानिसमा भ्रम रहेको पाइयो”, बिर्तामोड–५ मा गणकका लागि खटिनुभएका उहाँले भन्नुभयो, “धेरैले विवरण दिन अन्काउँछन्, धेरै ‘कन्भिन्स’ गर्दा मात्र विवरण दिने गरेका छन् ।” उहाँले मानिसको बुझाइ गलत भएकाले केही समस्या भएको बताउनुभयो ।
राजवंशी र गुरुङजस्तै जिल्लामा हाल एक हजार १८७ जना गणक जनगणनामा खटिएका छन् । उनीहरु घरदैलोसँगै खेतबारी र कार्यस्थलमै पुगेर विवरण लिइरहेका छन् । जनगणनाका लागि झापामा दुई वटा कार्यालय (बिरिङ नदी पश्चिम दमक र बिरिङ नदी पूर्व भद्रपुर) स्थापना गरिएको छ । यसअघि गरिएको प्रारम्भिक सर्वेक्षणमा झापामा दुई लाख सात हजार ५०० परिवार र करिब १० लाख जनसङ्ख्या रहेको तथ्याङ्क छ ।



प्रतिक्रिया