अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उहाँले सञ्चार जगत्ले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय लोकतान्त्तिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि सङ्घर्षलाई स्थापित गर्ने र परिर्वतनको रक्षा गर्दे कार्यान्वयनमा रहेका अपूर्णतालाई पूर्णताका लागि सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्ने काम सञ्चारकर्मीको रहेको मन्त्री शर्माले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष कृष्ण दवाडीले पत्रकारिता तालिमलगायतबाट सञ्चारकर्मीको क्षमता विकास गर्दै पत्रकारिताको गुणात्मक विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत कात्तिक १७ गते सम्पन्न जिल्ला अधिवेशनले दवाडीको अध्यक्षतामा २१ सदस्सीय जिल्ला समिति सर्वसम्मत चयन गरेको थियो । प्रेस सेन्टरले शुक्रबारनै पोखरा महानगर समितिको पहिलो अधिवेशनबाट शिवराज बस्ताकोटीको अध्यक्षतामा ११ सदस्यीय पालिकाका कमिटी गठन गरेको छ ।
यो पनि – मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी
प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका लागि बीएमएल, नर्सिङतर्फको बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बीपीएचको पठनपाठन एक दुई दिनमा सुरु गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भइसकेको उपकुलपति डा साहले बताउनुभयो । जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको छ । शिक्षण अस्पतालको रुपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अगाडि बढाएको छ । पहिलोपटक स्नातक तहका तीनवटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले प्राप्त गरेको छ । जसअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याबतर्फका लागि २०÷२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ । तोकिएको शुल्कमा नबढ्ने गरी अध्ययन अध्यापन गराउने उपकुलपति डा राम केवल साहले बताउनुभयो । निकट भविष्यमा नै एमडी तथा एमएसको स्वीकृति लिएर विशेषज्ञ चिकित्सक तयार पार्ने पक्षमा प्रतिष्ठान रहेको उपकुलपति डा साहले जनाउनुभयो ।
प्रतिक्रिया