कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै

कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्काे निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने जानकारी दिनुभयो ।

समितिले यही कात्तिक ११ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ÷नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ । यसैगरी प्रदेश अधिवेशन आगामी मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गरिने कार्यतालिका छ ।

यो पनि – कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कैलालीमा आजदेखि वडा अधिवेशन सुरु हँदैछ । तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । आजदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन सुरु हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिनुभयो ।

उहाँले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन एक हजार ५०१ जनाको मुल समिति र ११ वटा उपसमिति गठन गरिएको बताउनुभयो । कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली कांग्रेस कैलालीले जनाएको छ ।

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् । जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा एक हजार १२९ महिला र तीन हजार ३७४ पुरुष गरी चार हजार ५०३ क्रियाशील सदस्य रहेका छन् ।