नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गर्नुभएको छ । महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको हो ।
“हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा पनि बुझ्दछौँ । तदनुसार नै व्यवहारमा पनि लोकतन्त्रको अभ्यास गर्दछौँ ।” अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, “हामी सबैलाई थाहै छ, लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो । दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार हो ।”
यो पनि – कांग्रेसले आज १३ जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्दै
नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लामा आजदेखि वडा अधिवेशन प्रारम्भ गर्दैछ । पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि प्रारम्भ भएको कांग्रेसको वडा अधिवेशन अन्य जिल्लामा भने सम्पन्न भइसकेको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश नं २ का आठ जिल्ला तथा कैलाली, बाँके, सुर्खेत, डोल्पा र रसुवामा आज वडा अधिवेशन प्रारम्भ हुँदैछ । यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । समितिका संयोजक महादेवप्रसाद यादवले भने अर्काे निर्वाचन अधिकृत पठाएर भए पनि अधिवेशन प्रारम्भ गर्ने जानकारी दिनुभयो ।
समितिले यही कात्तिक ११ गते प्रकाशित गरेको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ÷नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक क्षेत्रमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ । यसैगरी प्रदेश अधिवेशन आगामी मङ्सिर १६ र १७ तथा केन्द्रीय महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गरिने कार्यतालिका छ ।
प्रतिक्रिया