नेकपा (एकिकृत समाजवादी) का स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनलाई आफूहरूले पुर्नगठन गरेको दाबी गर्नुभएको छ । मकवानपुरको फाखेल गाउँपालिकामा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले आफूहरू टुटेको र फुटेको नभई एकीकृत कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त गराउन युगको मागअनुसार पुर्नगठन गरिएको स्पष्ट पार्नुभयो ।
मन्त्री खतिवडाले आफूहरू गफ गर्न नभई काम गर्न सरकारमा गएको बताउँदै भन्नुभयो, “हामी गफका लागि सरकारमा गएका हौँ, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौँ, जुन काम शुरुसमेत भइसकेको छ ।” उहाँले प्रत्येक वडामा आधारभूत स्वास्थ्यचौकी, हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहजरूपमा पहुँच दिनेगरी सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।
अघिल्लो सरकारले बजेट र जग्गाको सुनिश्चित नगरी हचुवाका आधारमा एकैदिन सबै पालिकामा अस्पताल शिलान्यास गरेर प्रचार मात्र गरेको बताउँदै वर्तमान सरकार व्यवस्थितरूपमा ती अधुरा कार्यलाई पूरा गराउन क्रियाशील रहेको मन्त्री खतिवडाले उल्लेख गर्नुभयो । भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकीकृत समाजवादी)को गाउँपालिकास्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदस्यीय युवा सङ्घको पालिकास्तरीय कमिटी गठन गरेको छ ।
यो पनि – सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : नेम्वाङ
नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाउनुभएको छ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज विर्तामोडमा २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताउनुभयो ।
सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताउनुभयो । सबै कुराको दोष संविधानलाई दिन नहुने उहाँको धारणा थियो । उहाँले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पार्नुभयो ।
सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गर्नुभयो । सहकारी अभियानमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दैआएको छ ।
प्रतिक्रिया