गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नेपालीले विकास र स्थायित्व दिने जिम्मेवारी कांग्रेस नेतृत्वको सरकारलाई थपिएको बताउनुभएको छ । बेँसीशहरमा कांग्रेस लमजुङका कार्यकर्ता भेलामा उहाँले कम्युनिष्टको दुई तिहाइ बहुमतको सरकारले देश विकास गर्न नसकेकाले प्रदेशमा आफू नेतृत्वको सरकारलाई जिम्मेवारी थपिएको बताउनुभयो ।
सारा अधिकार आफ्ना हातमा लिन खोजेकाले तत्कालीन नेकपामा विद्रोह हुँदा कांग्रेसलाई जिम्मेवारी मिलेको उहाँको भनाइ छ । यसअघिको चुनावमा कांग्रेसलाई सरकारको प्रतिपक्षमा बस्ने मत प्राप्त भएकाले पाँच वर्ष नै सोही भूमिकामा बस्न लागे पनि देश र जनताका लागि कांग्रेस नेतृत्वको गठबन्धन सरकार आवश्यक भएको मुख्यमन्त्री पोखरेल नेपालीले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “हामीले हतार हतारमा बजेट ल्यायौँ, त्यसैले सबै क्षेत्रका विकासमा बजेट पु¥याउन सकेनौँ । तर हामी यसअघिको सरकारले अघि सारेका योजना र आफू नेतृत्व सरकारले अघि बढाएका पूरा गर्ने आफ्नो दायित्व भएको उहाँको भनाइ छ । त्यस्तै उहाँले अरु पार्टीभन्दा कांग्रेस महाधिवेशन सबैको आकर्षणको केन्द्र हुने भएकाले राम्रोसँग सफल बनाउनका लागि कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यस्तै मुख्यमन्त्री पोखरेल नेपालीले सुन्दर बजार नगरपालिका–८ भोटेओडारस्थित सिर्जनात्मक बचत तथा ऋण सहकारी संस्थाको २५औँ वार्षिकोत्सव तथा २२औँ साधारणसभाको उद्घाटनसमेत गर्नुभएको थियो ।
प्रतिक्रिया