नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टीको आसन्न १४औँ महाधिवशेनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउनेलगायत विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकोे निजी निवास बुढानिलकण्ठमा आज बसेको बैठकमा आइतबारदेखि सुरु हुने केन्द्रीय कार्य समितिको बैठकमा पेश हुने प्रस्तावका बारेमा छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायत कार्यसूची तय गरेको छ । साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता अनुमोदन गरिएको उहाँले बताउनुभयो । कांग्रेसको १४आँै महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ ।
कांग्रेसको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ/नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर छ, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ । यसैगरी प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गरिने कार्यतालिका छ ।
यो पनि – एमाले महाधिवेशन : अधिकांश जिल्ला कमिटीबाट सर्वसम्मत प्रतिनिधि चयन
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभरि नै प्रतिनिधि छनोट भएका छन् । एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अधिकांश जिल्ला, विशेष कमिटीमा सर्वसम्मत प्रतिनिधि चयन गरिएको जानकारी दिनुभयो । उहाँले सहमति हुन नसकेका जिल्ला कमिटीमा निर्वाचनबाट प्रतिनिधि चयन गरिएको बताउनुभयो । गोरखा, इलाम, नुवाकोट, पश्चिम रुकुम, रामेछाप, पूर्वीरुकुम, बैतडी, जाजरकोट, लमजुङ, प्यूठान, कास्की, कपिलवस्तु, अर्घाखाँची, बाग्लुङ, सङ्खुवासभा, खोटाङ, पाल्पा, नेपाल बुद्धिजीवी परिषद्, सिन्धुपाञ्चोक, पेशागत विशेष जिल्ला कमिटी, मजदूर विशेष जिल्ला कमिटीलगायत जिल्लाबाट निर्विरोध प्रतिनिधि निर्वाचित भएका उहाँले जानकारी दिनुभयो ।
यस्तै गुल्मी, म्याग्दी, मकवानपुर, दोलखा, हुम्ला, सल्यान, रोल्पा, गण्डकी प्रदेश कमिटी, प्रेस चौतारी नेपाल, अनेरास्ववियु, प्रोग्रेसिभ इञ्जिनीयरिङ एसोसिएन नेपाल (पिन), उद्योग व्यवसायी विशेष जिल्ला कमिटीमासमेत प्रतिनिधि चयन भएका छन् । उहाँले आजरातिसम्म सबै जिल्ला कमिटीमा प्रतिनिधि चयन गरिसक्ने जानकारी दिनुभयो ।
एमालेले एक निर्वाचन क्षेत्रबाट एक महिला र एक दलित गरी पाँच प्रतिनिधि महाधिवेशनका लागि चयन गरेको छ । एमालेले आज चयन गरिएका प्रतिनिधिको विवरण यहि कात्तिक ३० गतेसम्म केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको छ । एमालेले महाधिवेशनका लागि एक हजार ९९९ प्रतिनिधि चयन गर्ने भएको छ ।
एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ । विधान महाधिवेशन सकाएको एमालेले अवको महाधिवशेनमा नेतृत्व चयन गर्नेछ । पदाधिकारीसहित २२५ जनाको केन्द्रीय कमिटी र अनुशासन आयोग तथा लेखा आयोग गरी १५÷१५ जना निर्वाचित हुने छन् । एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया