नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको दोस्रो बैठकमा कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न पार्टीले सशक्तः भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको छ । छलफलका क्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले माक्र्सवाद लेनिनवादको महत्व, पुँजीवाद र समाजवादको अन्तरविरोध, पुँजीवादी लोकतन्त्रका विशेषता, वर्ग सङ्घर्षलगायत विषयमा प्रष्ट पार्नुभएको थियो । महाधिवेशनका निष्कर्ष र जनताको बहुदलीय जनवादको मान्यतालाई कुल्चने; गुटवाद, व्यक्तिवाद र सर्वसत्तावादले पार्टीको सैद्धान्तिक वैचारिक आधारलाई समाप्त गरेकाले विद्रोह गर्नुपर्ने स्थिति बनेको उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले समृद्ध समाजवादको दिशामा अघि बढ्न पार्टी र सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १६ वर्षमाथिका सबैलाई सङ्गठित गर्ने र ४० वर्ष मुनिका युवालाई सङ्गठित गर्न पार्टीले विशेष ध्यान दिनेछ । पार्टीको तीन महिने कार्ययोजनालाई विशेष परीक्षाका रुपमा लिइ काम गर्न, सबैले व्यक्तिगत पार्टी जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने विषयमा समेत छलफल भएको थियो । वरिष्ठ नेता झलनाथ खनालले विधिअनुसार एमाले नचलाएकाले आफूहरुले विद्रोह गरेको उल्लेख गर्दै विद्रोह क्रान्तिकारी परिवर्तनका लागि भएको बताउनुभयो । बैठकमा पछिल्लो पटक थप भएका सदस्यहरुले आज शपथ लिनुभएको थियो । बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने केन्द्रीय सदस्य राममाया भट्टराईले जानकारी दिनुभयो ।
यो पनि – प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गर्नुभएको छ ।महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले आज सन्देश जारी गर्दै दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गर्नुभएको हो ।
“हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा पनि बुझ्दछौँ । तदनुसार नै व्यवहारमा पनि लोकतन्त्रको अभ्यास गर्दछौँ ।” अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, “हामी सबैलाई थाहै छ, लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो । दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार हो ।”



प्रतिक्रिया