२८ कात्तिक (रासस÷सिन्हवा) ः भारतीय प्रहरीको कारबाहीमा भारतको महाराष्ट्रमा कम्तीमा पनि २६ जना नक्सलाइट विद्रोही मारिएका जनाइएको छ । महाराष्ट्रको गदचिरोली जिल्लामा भारतीय सुरक्षाकर्मीसँग नक्सलाइटको भिडन्त भएको थियो । सो भिडन्तमा परेर कम्तीमा पनि २६ जना नक्सलाइटहरुको ज्यान गएको बताइएको छ । प्रहरीका अनुसार यसक्रममा अरु केही प्रहरी घाइते भएका बताइएको छ ।
महाराष्ट्र प्रहरीका अनुसार उक्त जिल्लाको मार्दिनतोला जङ्गलमा सो भिडन्त भएको थियो । यस भिडन्तका क्रममा मारिएका २६ नक्सालको शव प्रहरीले फेला पारेको जनाएको छ ।कतिपय विद्रोहीहरु भागेका र अरु केही घाइते भएका छन् । सो जङ्गलमा उनीहरु लुकेर बसेका सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ ।
उक्त जङ्गलमा प्रहरीले केही अघिदेखि खोजी अभियान सञ्चालन गरिरहेको छ । त्यसक्रममा केही हप्ताअघि पनि प्रहरी र नक्सालहरुबीच भिडन्त भएको थियो ।उक्त जङ्गलमा प्रहरी टोली पुगेपछि नक्सालहरुले आक्रमण सुरु गरेका बताइएको छ । प्रहरीले ती नक्सालहरुले प्रयोग गरेका हतियारहरु पनि बरामद गरेको जनाएको छ । यी नक्सालहरु भारतको मध्य तथा पूर्वी क्षेत्रमा पछिल्ला समयमा सक्रिय रही आएका छन् । ती क्षेत्रहरुमा सुरक्षा व्यवस्था पनि कडा पारिएको भारत सरकारले जनाएको छ ।
यो पनि – रौतहटमा कार दुर्घटना हुदा ४ जना भारतीय नागरिकको मृत्यु
रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको युके १२ सी २९०० नं को सुजुकी स्वीफ्टकार सडकबाट करिब २० मिटर तल पानी भरिएको खाल्डोमा खस्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलमा पुग्दा चारै जनाको मृत्यु भइसकेको थियो । गाडीमा चार जना सवार रहेको र चारै जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृतकको हालसम्म पहिचान खुल्न नसकेको तर उनीहरुको साथबाट फेला परेको कागजात अनुसार मृतक सबै भारतीय नागरिक भएको आधार देखिएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाग्रस्त कारलाई राति नै प्रहरीले क्रेनको सहयोगले पानीबाट निकालेको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल गौर ल्याइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोररियाले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानबाट गाडीमा सवार सबैले अत्याधिक मदिरा सेवन गरेको र चालकले पनि मदिरा सेवन गरेको खुलेको छ । मदिराकै कारण सवारी दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यो पनि – सुनको मूल्य फेरी बढ्यो,यस्तो छ आजको भाउ
नेपालको सुनचाँदी बजारमा केही दिन अघिदेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य आज पनि प्रतितोला रु २०० ले उकालो लागेर रु ९४ हजार ६०० कायम भएको छ । पहेँलो धातु गत शुक्रबार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । अघिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य शुक्रबारका तुलनामा रु १० ले उकालो लागेर एक हजार २९५ कायम भएको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २८५ मा कारोबार भएको थियो ।महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८६४ डलर आसपासमा कारोबार भइरहेको छ ।
सुनको कोटा बढाउन व्यवसायीको माग
महासङ्घले सुनको कोटा दैनिक ३० किलो बनाउन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ । हालको आपूर्ति व्यवस्थाले बजारको माग धान्न नसकेको भन्दै आपूर्ति व्यवस्था बढाउन राष्ट्र बैंकसँग आग्रह गरेको महासङ्घका अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।
हाल वाणिज्य बैंकमार्फत सुनको आपूर्ति हुँदै आएकोमा त्यसलाई व्यवस्थित र प्रभावकारी वनाउन ‘गोल्ड बैंक’मार्फत आपूर्ति व्यवस्था मिलाउनुपर्ने तथा सुनको वितरण काठमाडौँ केन्द्रित रहेकोले त्यसलाई विकेन्द्रित गर्दै तोकिएका नाकाबाट कच्चा सुन पाउने व्यवस्था मिलाउनुपर्नेमा अध्यक्ष शाक्यले जोड दिनुभएको छ । हाल राष्ट्रबैंकले सुनको दैनिक कोटा २० किलो रहने व्यवस्था गरेको छ ।



प्रतिक्रिया