आयोजनास्थल पुगेरै ठेकेदारलाई ताकेता गर्दै मन्त्री बराल

आयोजनास्थल पुगेरै ठेकेदारलाई ताकेता गर्दै मन्त्री बराल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्माण व्यवसायी सुनिलसिंह खत्रीको मोबाइलमा अज्ञात व्यक्तिको मोवाइलबाट फोन फोन आयो । सुनिल खत्रीले हेलो भन्न नपाउँदै ‘सुनिल जी काठेखोलास्थित बिहुँदेखि तङ्ग्रामहुँदै धम्जा जाने लामाबगर मोटरेवल पुल कहिले बन्छ ?’ भन्ने प्रश्न गरियो । खत्रीको जवाफ आयो–को बोल्नुभयो हजुर ? “म रामजीप्रसाद बराल बोलेको हो तपाईले ठडाउनुभएको पुलको पिल्लरमाथि उभिएर तपाईलाई फोन गरेको छु, भन्नुहोस् ठ्याक्कै कहिले काममा आउनुहुन्छ, मलाई परिणाम चाहिन्छ, काममा ठिला सुस्ती भयो ।”

एमएस निलगिरी नेशनल जेभी निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि खत्रीले मङ्सिरबाट काममा आउछु हजुर भनेर फोन राख्नुभयो । निर्माण व्यवसायी खत्रीलाई गत जेठदेखि ठप्प रहेको काठेखोलाको लामाबगरबाट फोन गर्ने व्यक्ति हुनुहुन्थ्यो गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री बराल । उक्त पुल २०७६ फागुन ६ गते गण्डकी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शिलान्यास गर्नुभएको थियो । अठार महिनामा सक्नुपर्ने पुलको जम्मा ५० प्रतिशमात्रै काम सम्पन्न भएको गुनासोपछि मन्त्री बराल आयोजनास्थलमै पुगेर ठेकेदारलाई ताकेता गर्नुभएको हो ।

“आफै फिल्डमा पुगेर ताकेता गर्दा सकरात्मक प्रभाव पर्ला, कार्यालय प्रमुखलाई त ठेकेदारले ल ल मात्रै भन्छन्” उहाँले भन्नुभयो,“ठेकदारले काम नगर्ने परिपाटीलाई अन्त्य गर्न आवश्यक छ, म गण्डकी प्रदेशभरका जिल्ला जिल्लामा स्थलगत निरीक्षणपछि निर्माणलाई गति दिने गरी अगाडि बढ्छु ।”

आठ मिटर चौडाइ र ३० मिटर लम्बाइ रहेको उक्त मोटरेवल पुलको २०७७ साल माघ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६ साल साउन २५ गते उक्त कम्पनीले निर्माणको जिम्मा लिएको थियो । सिङ्गल स्पान मोडेलमा निर्माण हुन लागेको पुल रु तीन करोड ३१ लाख ६३ हजार ६७९ मा निर्माण गरी संझौता भएको थियो ।

शिलान्यसका समयमा सम्झौता मितिभन्दा अगावै पुलःनिर्माण गरी सक्ने प्रतिबद्धता जनाएको उक्त कम्पनीले विभिन्न बाहना देखाउँदै निर्माणमा ढिलाइ गर्दै आएको छ । मन्त्री बरालले बागलुङ बसाइँका क्रममा दुई मोटरेवल पुल र दुई सडकको स्थलगत अनुगमनका लागि बागलुङस्थित पूर्वाधार कार्यालयको प्राविधिकसहित आयोजनास्थलमै पुग्नुभएको थियो ।

उक्त कार्यालयका प्रमुख गणेश सुवेदीले लामाबगर पुल निर्माणका लागि २०७८ चैतसम्म ठेक्का म्याद थपेर निर्माण व्यवसायीलाई काममा फर्कन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार पुलका दुई पिल्लर ठडाएको र अब पुल ढलानका लागि आवश्यक कच्चा सामग्रीसमेत जोहो भइसकेको छ । मन्त्री बरालले उक्त पुलसहित बागलुङको गलकोट नगरपालिकास्थित नरेठाँटी खोलामा निर्माणधीन मोटरेबल पुल, हरिचौर ताराखोलाहुँदै म्याग्दीको निर्वाचन क्षेत्र नं १ स्थित सडक र रिजालचोकदेखि ताराखोला जोड्ने शहीद मार्ग निरीक्षण गर्नुभएको थियो ।