इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आज विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई भाडा बढाएका हुन् ।
यसरी बृद्धि भएको भाडादरअनुरुप अब काठमाडौँबाट सबैभन्दा लामो दूरीको धनगढी गन्तव्यका लागि रु २२० बढेको छ । सङ्घका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृति लिएर हवाई इन्धनको मूल्यमा हवाई भाडा वृद्धि गरिएको छ । आजैदेखि यो भाडादर लागू गरिएको छ । काठमाडौँबाट हुने पर्वतीय उडानमा भने इन्धनमा लाग्ने शुल्क रु १७० बढेको छ ।
यो पनि – पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग
संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका छन् ।
विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीको राजीनामा समेत माग गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नेकपा (एकीकृत समाजवादी) निकट (अनेरास्ववियु)सहितका विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
संयुक्त विद्यार्थी सङ्गठनले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेतालाई पनि दबाब दिने बताएका छन् ।



प्रतिक्रिया