नेपाल प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ ।कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सभामा सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा गत आवको यथार्थ आय रु १७ करोड ५७ लाख ६७ हजार र व्यय रु १७ करोड २० लाख ७८ हजारसहित कार्यक्रमिक गतिविधिको विवरण प्रस्तुत गरिएको थियो ।
प्राज्ञसभा सदस्य शशी लुमुम्बुका अनुसार बैठकले वरिष्ठ साहित्यकार डा तारानाथ शर्मालाई गत साउन १ गते र कवि नरेश शाक्यलाई गत भदौ १ गतेदेखि लागु हुने गरी आजीवन सदस्यता दिने निर्णयको अनुमोदन गरिएको छ । डा वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यता दिने निर्णय पनि अनुमोदन भएको छ ।सभाको उद्घाटन आज बिहान प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक शेरबहादुर देउवाबाट भएको थियो ।
यो पनि – ‘बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज’
संयुक्त अधिराज्य बेलायतमा पढ्ने नेपाली विद्यार्थीलाई अन्य मुलुकको तुलनामा शिक्षासँगै रोजगारीमा सहजता हुने गरेको जनाइएको छ । बेलायत र आयरल्यान्डमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि परामर्श सेवा गर्दै आएको आएआई–युकेले बेलायती शैक्षिक प्रदर्शनी–२०२१ बारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा त्यहाँ विद्यार्थीको शैक्षिक गुणस्तर र उत्तीर्ण दर पनि राम्रो भएको जनाइयो । उक्त संस्थाका राष्ट्रिय निर्देशक विनय अधिकारीले बेलायतमा पढिसकेपछि दुई वर्षको कार्य अनुमति (टियर ४ भिसा) दिने गरेको र टियर २ भिसामा परिवर्तन गर्न हालै केही नियमहरु परिवर्तन भएको जनाउँदै त्यसबारे आफूहरुले परामर्श दिएको बताउनुभयो । उहाँले आगामी मङ्सिर ५ गते पुतलीसडकस्थित आएआई–युकेको कार्यालयमा बेलायती शैक्षिक प्रदर्शनी–२०२१ आयोजना गर्ने र सोका लागि विद्यार्थीहरुको आवोदन खुल्ला गरिएको जानकारी दिनुभयो ।
सो संस्थाका राष्ट्रिय व्यवस्थापक शिशिर रेग्मीले मेलामा विद्यार्थी र अभिभावकले एकै हातामा बेलायतको शैक्षिक प्रणाली, अध्ययनका लागि लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र चुनौतीबारे बेलायती शैक्षिक संस्थाका प्रतिनिधिकै उपस्थितिमा जानकारी लिन सक्ने बताउनुभयो ।



प्रतिक्रिया