गण्डकीमा एक हप्तामा २६१ जना सङ्क्रमण मुक्त

गण्डकीमा एक हप्तामा २६१ जना सङ्क्रमण मुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा २६१ कोरोना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा १४३ सङ्क्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ ।प्रदेशमा पछिल्लो २४ घण्टामा ४३ जना कोरोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस अवधिमा ३१ जना सङ्क्रमित थपिएका छन् भने बाग्लुङ–९ का ५३ वर्षीय पुरुषको सङ्क्रमणका कारण मृत्यु भएको छ । निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ४०२ पुगेको छ । प्रदेशमा होम आइसोलेशनमा रहनेको सङ्ख्या ३०१ जना रहेको निर्देशनालयले जनाएको छ ।

यो पनि -प्रदेश नं १ मा २९ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २९ जनामा कोरोना सङ्क्रमण भएको छ । तीन सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा १५, मोरङमा आठ, सुनसरीमा तीन र इलाममा दुईजनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १७ महिलासहित ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको बताइएको छ ।

यो पनि – आज थप ३०६ मा सङ्क्रमण पुष्टि

थप ३०६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठजनाको पिसिआर परीक्षण गर्दा २९१ जना र एक हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या नौ लाख १२ हजार ५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सात लाख ९८ हजार २७४ जना सङ्क्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २१५ जना रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेशनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

मन्त्रालयका अनुसार कोरोनाका बिरामीमध्ये २२२ जना आइसियू र ६७ जना भेन्टिलेटरमा उपचारमा छन् । दश वर्षमुनिका ६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघारदेखि २० वर्ष उमेर समूहका २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७७ पुगेको छ ।

यो पनि – पेट्रोलियम सामग्रीको प्रयोग कम गर्न विद्युतीय प्रयोग बढाऔँ : ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन, कलकारखाना एवं सामग्रीको प्रयोग कम गर्दै लैजाने नीतिलाई प्राथमिकता दिने बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ(एको¥याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले प्रतिबद्धता गरेको समयावधिभन्दा अगावै नेपालबाट पेट्रोलियम पदार्थको प्रयोग प्रतिस्थापन गर्न सकिने गरी योजना बनाउने बताउनुभयो ।

“विशेषज्ञ र सरोकारवालाई अध्ययन गराएर कार्ययोजना बनाउने छु । त्यसैले अब हामी सबैले विद्युतीय सवारी खरिद गरौँ”, स्वदेशमै उत्पादन भएको विद्युत् खपत गर्दा व्यापारघाटा कम गर्न सकिने विश्वास व्यक्त गर्दै उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादन प्रयोग गर्दा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणमा पनि मद्दत पुग्छ ।”

जलवायु परिवर्तनको असरलाई कम गर्नका लागि पनि हामीले विद्युतीय सामग्री प्रयोगमा बानी बसाल्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले भन्नुभयो, “हिउँ पग्लँदै छन्, हिउँपोखरीको जोखिम बढ्ने देखिएको छ । यस्ता जोखिम कम गर्न पनि हाम्रोतर्फबाट योगदान गरौँ ।” विकसित राष्ट्रले गरेको गल्तीका कारण जलवायु परिवर्तन नराम्रो असर नेपालमा पर्न थालेको बताउँदै उहाँले भन्नुभयो, “मनाङलगायत जिल्लामा ठूलो भौतिक तथा मानवीय क्षति भएको छ, हामीले नखाएको विषको परिणाम हामीले भोगिरहेका छौँ ।”

विपद्का समयमा रेडियोको भूमिका महत्वपूर्ण हुने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “विपद्का समयमा सबैभन्दा बढी प्रभावकारी एफएम नै हुन्छ । सूचना साझेदारीको काम गर्न तयार छौँ । सूचनाको माध्यम रेडियो भएको छ ।” सरकार सामुदायिक रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै उहाँले जुनसुकै समयमा पनि सहजरूपमा रेडियो सुन्न सकिने भएकाले रेडियो प्रभावकारी सूचना प्रवाह गर्ने माध्यम भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो नै छ ।”

जनताको प्रगतिमा आफू निरन्तर लाग्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “समाजवाद उन्मुख समाज निर्माणको पहिलो दायित्व गरिबी निवारण नै हो ।” मन्त्री भुसालले जनताको दैनिक जीवनमा प्रभाव पार्ने विद्युत् २६ लाख घरपरिवारलाई निःशुल्क गरेको सुनाउनुभयो ।

कार्यक्रममा एको¥याबका अध्यक्ष अर्जुन गिरीले कोभिड–१९ को सङ्क्रमण, भूकम्पको जोखिम एवं बाढी पहिरोका समयमा सामुदायिक एफएमहरूले महत्वपूर्ण योगादान गरेको उल्लेख गर्दै सामुदायिक रेडियोका समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सामुदायिक रेडियोले प्रविधिमात्र नभई विषयवस्तुका सन्दर्भमा पनि विशेष ध्यान दिनुपर्ने समय आएको बताउँदै अभ्यासमा पनि सामुदायिक रेडियो भन्ने प्रमाणित गर्दै जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक कमलराज जोशीले सामुदायिक रेडियोसँग सहकार्य गरेर विपद्का सूचना प्रवाह गर्न विभाग तयार रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाउने बताउनुभयो ।

त्यसैगरी पूर्व अध्यक्षहरू मीनबहादुर शाही र सुवास खतिवडाले विपद्का समयमा रेडियोको भूमिका महत्वपूर्ण हुने भएकाले राज्यले सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा बिबिसी नेपाली सेवाका प्रमुख जितेन्द्र रावतले श्रोताको आवश्यकतानुसार विषयवस्तु उत्पादन गर्न सक्दा नै रेडियोको जिम्मेवारी पूरा हुने बताउनुभयो ।