पशुपति क्षेत्रस्थित वनकालीमा रहेको नेपाल वेद विद्याश्रमलाई महाविद्यालयमा स्तरोन्नति गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषको मातहतमा सञ्चालन रहेको नेपाल वेद विद्याश्रमको ४८औँ वार्षिक उत्सवका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विद्याश्रमलाई दश जोड दुई (प्लस टु) पछिको चार वर्ष थप गरी स्नातक (शास्त्री) सम्म अध्ययन गर्न सक्ने महाविद्यालय बनाउन लागि पर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
“वेद विद्याश्रमको बजेटमा कसैले पनि दुरुपयोग गर्नुहुँदैन, बालबालिकाको नाममा आएको बजेट कसैले दुरुपयोग गरेको थाहा भयो भने तुरुन्त कारबाही गर्नेछु, म आफू पनि तलमाथि गर्दिन र अरुलाई पनि गर्न दिन्न, विद्यार्थीको भविष्यमा खेलबाड गर्ने कसैको अधिकार छैन”, उहाँले भन्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे व्यवस्थासमेत आफूले सुधार गरेकोे मन्त्री आलेले बताउनुभयो ।
कोषका सदस्य सचिव डा मिलनकुमार थापाले विद्याश्रमलाई महाविद्यालय बनाउन कोषले काम अघि बढाउन लागेको जानकारी दिनुभयो । महाविद्यालयलाई स्तरोन्नति गर्दै विश्वविद्यालयकै रूपमा विकास गर्ने सोचसमेत रहेको उहाँको भनाइ थियो । कार्यक्रममा नेपाल वेद विद्याश्रमका उत्कृष्ट शिक्षक तथा विभिन्न प्रतियोगितामा विजयी हुने छात्रलाई पुरस्कृत गरिएको थियो ।
यो पनि –
चालक अनुमतिपत्रका लागि आवेदन दिन तीन सातामा चार लाख
लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झण्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो ।
कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयलले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरुपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिकरुपमा नयाँँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताउनुभयो । कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताउनुभयो ।
गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उहाँले भन्नुभयो, “अहिले अपडेट गरेपछि फारम बुझाउन सकिएन भन्ने गुनासो छैन ।”
विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनःबढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरुपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।



प्रतिक्रिया