जनताले अनुभूत गर्नेगरी विकास गर्छु : मन्त्री यादव

जनताले अनुभूत गर्नेगरी विकास गर्छु : मन्त्री यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकाङ्क्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले सबै कर्मचारीलाई काठमाडौँ केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन भनिएको बताउनुभयो । काठमाडौँ उपत्यकामा १५/१५ दिन र उपत्यका बाहिरका आयोजनामा कम्तीमा एक महिनामा प्रगति विवरण पठाउन भनिएको छ । उहाँले भन्नुभयो, “१५ दिन वा एक महिनामा एक किलोमिटर सडक बने पनि त्यो जानकारी गराउनुपर्छ ।”

कुनै पनि योजनामा ठेक्का सम्झौता गर्नै प्रक्रियामा नै त्रुटि भएकाले समस्या आउने गरेको मन्त्री यादवले बताउनुभयो । सबैभन्दा कम रकममा काम गर्न तयार हुनेलाई जिम्मेवारी दिँदा गुणस्तरीय कामको अपेक्षा गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यतिभन्दा कम कबोल गर्न नपाइने वा रकमका आधारमा यति स्थानमा भएकालाई छनोट गरिने भन्ने व्यवस्था गर्दा यो समस्या हट्न सक्छ ।”

चालक अनुमतिपत्र वितरण र राजस्व सङ्कलन प्रदेशले गरे पनि छपाइको काम सङ्घले गर्नुपर्ने मन्त्री यादवले बताउनुभयो । अनुमतिपत्र आधिकारिक कागजात भएकाले पनि यसमा एकरुपता चाहिने उहाँको भनाइ छ । सार्वजनिक सवारीसाधनमा रकमको साटो कार्डको व्यवस्था गरिनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “कम्तीमा काठमाडौँ उपत्यकाबाट यसलाई सुरु गर्न सकिए पनि राम्रो हुनेछ ।”

कुर्था–जयनगर खण्डमा रेल सञ्चालनको सबै तयारी भइसकेकाले छिट्टै गरिने र काठमाडौँको चक्रपथमा विद्युतीय बस सञ्चालन गरिने उहाँले बताउनुभयो । पूर्व–पश्चिम राजमार्ग जस्तै ठाउँठाउँमा उत्तर–दक्षिण राजमार्ग निर्माण गर्दै जाने उहाँले बताउनुभयो ।