हस्तकला व्यापार मेला हुने, सम्पूर्ण तयारी पूरा

हस्तकला व्यापार मेला हुने, सम्पूर्ण तयारी पूरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल हस्तकला महासङ्घको आयोजनामा हुन लागेको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ कला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर ३ देखि ५ गतेसम्म होटेल ह्यात रिजेन्सी बौद्धमा हुन लागेको व्यापार मेला तथा कला प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महासङ्घका उपाध्यक्ष एवम् मेलाका संयोजक रवीन्द्र शाक्यले १२० भन्दा बढी व्यापार कक्ष रहने मेलाको अधिकांश कक्ष बुकिङ भइसकेको जानकारी दिनुभयो । मेलामा नेपाली हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री गर्नाका साथै अमूर्त सांस्कृतिक सम्पदाको उजागर गरिने संयोजक शाक्यले बताउनुभयो । मेलाकै अवसरमा महासङ्घले वर्षभरीको उत्कृष्ट उद्यमी, उत्कृष्ट कलाकर्मी, उत्कृष्ट निकाशीकर्ता र ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने उक्त मेलामा तीनै सरकारका प्रतिनिधि एवम् विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवम् राजदूतलाई आमन्त्रण गरिएको महासङ्घले जनाएको छ ।

मेलामार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न अवसर प्राप्त हुने, प्रत्येक वर्ष एक निश्चित समयमा यस्ता मेला आयोजनाले नयाँ–नयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधीकरण प्रोत्साहन मिल्ने, हस्तकलाको क्षेत्रमा रहेकोे सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान हुने, स्वदेशमै रोजगारी अभिवृद्धि हुने महासङ्घले अपेक्षा राखेको छ ।

तीन दिनसम्म चल्ने मेलाको झण्डै एक लाखले अवलोकन गर्ने र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रु तीन करोडदेखि पाँच करोडसम्मको कारोबार हुने आयोजकले विश्वास लिएको छ । विसं २०४८ देखि आफ्नो वार्षिक क्यालेन्डरका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार निकासी तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना मेला आयोजना गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले मेलाले कोरोना महामारीका कारण शिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, हस्तकला प्रतियोगिताका संयोजक तथा उपाध्यक्ष राजमान बज्राचार्य, प्रवक्ता सनम शाक्य, राष्ट्रिय अभिलेखालय निमित्त महानिर्देशक शौभाग्य प्रधानाङ्ग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह र नबिल बैंकका प्रतिनिधि निरज बस्नेतलगायतले मेलाको आवश्यकता र महत्वका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।