पाटन दरबारको खाली भागलाई पुरातात्विक बगैँचाका रुपमा अघि बढाउनु पर्छ : सत्यमोहन जोशी

पाटन दरबारको खाली भागलाई पुरातात्विक बगैँचाका रुपमा अघि बढाउनु पर्छ : सत्यमोहन जोशी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीले पाटन दरबार पछाडिको खाली भागलाई पुरातात्विक बगैँचाका रुपमा अघि बढाएर सो महत्वका वस्तुको प्रदर्शन गर्न जरुरी रहेको बताउनुभएको छ । दरबार सङ्ग्रहालय विकास समितिको २४आँै वार्षिकोत्सवका अवसरमा आज उहाँले पाटन मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण क्षेत्र रहेकाले सो बगैँचा व्यवस्थापन गरी पुरातात्विक वस्तुको प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्ग्रहालयभित्र त्यसै थन्किएर रहेका मूर्ति तथा शिलापत्र आदिको महत्व दर्शाउन जरुरी छ ।” सो बगैँचा बनाउँदा छरिएर रहेका संस्कृतिको संरक्षण हुनाका साथै कला अनि पर्यटनको विकासमा टेवा पुग्ने उहाँको धारणा थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पाटन सङ्ग्रहालय दक्षिण एसियाको महत्वपूर्ण क्षेत्रका रुपमा गणना भइरहँदा सो बगैँचा निर्माणका लागि गृहकार्य गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यस बगैँचाको सहयोगमा अदृश्य रुपमा रहेका सम्पदाको खोजी गरी उजार गर्न सकिन्छ ।”

सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले सङग्रहालयभित्र प्रदर्शन नगरी थन्क्याइएका लगभग एक हजार सात सय वस्तु बगैँचाको सहयोगमा प्रदर्शन हुन पाउने बताउनुभयो । हाल तीन सयभन्दा बढी वस्तु सो सङ्ग्रहालयभित्र प्रदर्शनीमा राखिएको छ । पुरातात्विक महत्वका वस्तुको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ शताब्दी पुरुष जोशीले बगैँचाको अवधारणा अघि बढाउनुभएको हो । सो अवसरमा सङग्रहालयभित्र १४औँ देखि १७औँ शताब्दीसम्मका ढुङ्गाको प्रस्तरको मूर्तिसमेत प्रदर्शनी गर्नाका साथै सङग्रहालयको मुखपत्र विमोचन गरिएको थियो ।

यो पनि – मनाइयो हरिबोधिनी एकादशी पर्व

भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी वा ठूलो एकादशी पर्व मनाइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन यो पर्व मनाउने गरिन्छ । आज तुलसीको दामोदर अर्थात् भगवान् विष्णुसँग विवाह गरेपछि चार महिना लामो व्रत उद्यापनका लागि भोलिदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा हवन गर्छन् । भोलिदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसी पूजाको उद्यापनका लागि हवनसहित पूजाआराधना गर्न जुराउनु पर्दैन ।

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आजै ब्युँझनुहुने भएकाले कात्तिक शुक्ल एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरि शयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरुपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।

कार्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । विष्णु क्षीरसागरमा सुत्नुभएकाले यी चार महिनामा विवाह व्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढीपहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरियो ।

आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, काठमाडौँका शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्यो । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइएको छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।