नेकपा (एमाले)को आशन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ । एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति तय गरिएकामा सो दिन अधिकांश जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका थिए भने बाँकी रहेका स्थानमा पनि निर्वाचन पनि सहमतिबाट छानिएर विवरण आउन थालेको छ ।
पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट गरी ९० प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाउनुभयो । प्रतिनिधि चयन भएकाको विरणलाई डिजिटलरुपमा अभिलेखीकरण गरिनेछ ।
गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ । सो पार्टीले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्नेछन् ।
यो पनि – विप्लवले गरेको नेपाल बन्दका क्रममा आठ जना प्रहरी नियन्त्रणमा
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज आह्वान गरेको नेपाल बन्दका क्रममा आठ जनालाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयमा राखिएको बताइन्छ । सडकमा बन्दकर्ताको उपस्थिति नरहेकाले निर्वाध सवारी तथा व्यवसाय सञ्चालनको अवस्था रहेको प्रहरीको भनाइ छ ।
बन्दका क्रममा अप्रिय घटना हुन नदिन कास्की प्रहरीले ६३५ जना प्रहरी परिचालन गरिएको प्रनाउ हमालले जानकारी दिनुभयो । नेकपाका जिल्ला सदस्य एवं कार्यालय सचिव काजी गुरुङ, विद्यार्थी नेता युवराजलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेकपा स्रोतले जानकारी दिएको छ ।
पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि पोखराको जनजीवन प्रभावित बनेको छ । मुख्य बजारका पसल बिहानैदेखि बन्द छन् भने सार्वजनिक तथा भाडाका सवारी साधन ठप्प छन् । केही मोटरसाइकल तथा स्कुटर भने निर्वाध सञ्चालनमा छन् ।
यो पनि – बन्द गराउन खोज्ने १० पक्राउ
नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो । सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पु¥याउन पाएका छैनन् । थापाले भन्नुभयो, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।” बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ ।
प्रतिक्रिया