नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ । सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धी भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।
यो पनि – शिक्षा र स्वास्थ्यमा लगानी बढाउन माग
रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । सरस्वती बहुमुखी क्याम्पस, रिसर्च मेनेजमेन्ट सेलद्वारा प्रकाशित जर्नल ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’को यहाँ विमोचन गर्दै उहाँले शैक्षिक थलोमा प्राध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थीले राजनीतिक विचारको प्रवेश गराउन नहुने बताउनुभयो ।
सोही क्याम्पसका पहिलो प्रिन्सिपलका रुपमा समेत कार्य गर्नुभएका उहाँले शिक्षक वा विद्यार्थीले सफलता प्राप्तिका लागि आफैँभित्र प्रतिस्पर्धा गर्न सुझाव दिनुभयो । क्याम्पस प्रमुख डा गोलमान गुरुङले क्याम्पसबाट लाखौँ विद्यार्थीले गुणस्तरीय शिक्षा प्राप्त गरिसकेको उल्लेख गर्दै भन्नुभयो, “पठनपाठनमा वैचारिक कुरा ल्याउन हुँदैन ।”
कार्यक्रममा सहायक क्याम्पसप्रमुख ईरा श्रेष्ठ, प्रा डा षडानन्द पौडेल, प्राध्यापक सङ्घ एकाइ उपसभापति डा कल्पना लुइँटेल, आरएमसी प्रमुख यादवमणि उपाध्याय, अनुसन्धानकर्ता मुक्ति रिजालले अन्तर्राष्ट्रिय स्तरको यस जर्नलले निरन्तरता पाओस् भनी शुभकामना दिनुभयो ।
ओपन एसेस–ब्लाइन्ड रिभ्यू जर्नलका रुपमा रहेको अद्र्धवार्षिक ‘इन्टरडिसिप्लिनरी जर्नल अफ मेनेजमेन्ट एन्ड सोसल साइन्सेस’ प्रिन्ट र अनलाइन दुवै स्वरुपमा उपलब्ध छ । जर्नलको प्रधान सम्पादकमा डा रामहरि शर्मा लम्साल तथा सम्पादकद्वयमा जमुना श्रेष्ठ र गणेशदत्त पन्त हुनुहुन्छ । जर्नलमा विभिन्न १८ अनुसन्धानमूलक लेख प्रकाशित छन् । विसं २०१६ मा स्थापित सो क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायका स्नातक÷स्नातकोत्तर कार्यक्रम बिहानी, दिवा र रात्रि सत्रमा सञ्चालित छन् ।



प्रतिक्रिया