राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्ध मुद्दा

राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्ध मुद्दा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी रु पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ । विभागले आज जारी गरेको सूचना उक्त राजस्व चुहावट बराबरको बिगो असुल गरी जरिवाना र कैद सजायको माग दाबी लिई मुद्दा दर्ता गरिएको उल्लेख छ । विभागका अनुसार यसरी राजस्व चुहावटको अभियोग लागेकामा रुपन्देहीको क्रिष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेष्ट डिष्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ र सोही जिल्लाका मोहमद साहिद अन्सारीसमेत १२ जना रहेका छन् ।

अनुसन्धानका क्रममा उनीहरुबाट सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क टिकट फेला परेको छ । साथै भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा बढी परिमाणमा मालवस्तु भेटिनुले भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको देखिएको विभागले जनाएको छ ।

उनीहरुमाथि राजस्व चुहावट, (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को खण्ड ‘झ’ बमोजिम कसुर गरेको आरोप छ ।

यो पनि – अदालतको समस्या समाधान गर्न आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले न्यायपालिकाको गरिमा र जनताको न्याय पाउने हकको सुनिश्चितताका लागि सर्वोच्च अदालतमा देखिएका समस्या समाधान गर्न आग्रह गरेको छ । इन्सेककी अध्यक्ष डा इन्दिरा श्रेष्ठद्वारा आज जारी प्र्रेस विज्ञप्तिमा नेपाली जनताको विकास, समृद्धि तथा मानव अधिकारमैत्री एवं जवाफदेही शासनको अपेक्षामा हाल देखिएका संस्थागत अराजकताले गम्भीर आघात पुग्ने हुँदा न्यायालयको अन्योलता अन्त्य गर्न माग गरिएको छ ।

“न्यायिक सम्पादनमा भइरहेको ढिलाइले आम नागरिकको अधिकार कुण्ठित हुँदा समस्याको समयमा नै समाधान गर्न सरोकारवालालाई आग्रह गर्छौँ”, विज्ञप्तिमा उल्लेख छ, “न्यायपालिकाले गर्ने न्याय सम्पादनका कार्य नियमितरुपमा सञ्चालन नभएकाले जनताको समयमै न्याय प्राप्त गर्ने आधारभूत अधिकार उल्लङ्घन भएको अहिले सर्वोच्चमा चलेको घटनाक्रमले देखाएको छ, भविष्यमा यस्तो समस्या नआउने सुनिश्चितताका लागि नीति, कानून र संरचनागत सुधारका कार्यमा ध्यान केन्द्रित गर्न माग गर्दर्छौं ।”