कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत सामग्री लिएर त्यसतर्फ जानुभएको हो ।
मुख्यमन्त्री शाहीका साथमा नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाही, प्रदेशसभा सदस्य झोवा विक, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यलगायत रहनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काका अनुसार उक्त टोलीले २५० थान कम्बल, स्वीटर, ज्याकेट, २१ थान त्रिपालसहित प्रदेश सरकारको टोली मुगु पुगेको हो ।
मङ्गलबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले खाद्यान्नलगायत सामग्री आवश्यकताका आधारमा दिने निर्णय गरेको प्रवक्ता खडकाले बताउनुभयो । गत कात्तिक २९ गते राति सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घरसहित करोडौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो ।
यो पनि – मुगुमा मध्य रातमा भीषण आगलागी, २० घर जलेर खरानी,करोडौँको क्षति
गए राति मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हँुदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको छ । राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा रहेको ठिल्ले लामाको घरबाट सुरु भएको आगलागी फैलिँदै जाँदा २० घर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको हो ।
आगलागीबाट ठिल्ले लामा, रतनबहादुर शाही, जानबहादुर हितान, दानबहादुर हितान, जनकबहादुर मल्ल, झोम्वा लामा, एन्गल लामा, डम्बर मल्ल, र्तोचे लामा, गुरु लामा, टासी लामा, पृथ्वीजङ्ग शाह, छत्रबहादुर मल्ल, सकुन्तला शाही, विशाल मल्ल, लक्ष्मी शाही, पुतली शाही, कुशलाल सावत, गोमा मल्ल, छिरिङ्ग लामाका घर जलेर खरानी भए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट घरमा भाडा लिएर कारोबार गर्नेहरूको करोडाँैको धनमाल खरानी भएको पनि प्रहरीले जनाएको छ । प्रहरी मुचुल्काका लागि घरधनी, पसलधनीहरुसँग सोधपुछ चलिरहेकाले क्षतिको विवरण अहिले उपलब्ध गराउन नसकिने बताइएको छ । बजारमा चलनचल्तीको बिक्री दर अनुमान गर्दा घरबारमात्र करोडाँैको मुल्यभन्दा बढीको क्षति भएको र पसलहरुको सामानसमेत जोड्दा १०० करोड आसपाससम्मकोे क्षति भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताउनुभयो । राति बाह्र बजेदेखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब पाँच घण्टापछि नियन्त्रणमा आएको थियो । पुराना माटो, ढुङ्गा र काठले बनेका घरहरु भएकाले आगोले उग्ररुप लिएको थियो । रातिको समय भएकाले कसैले आफ्ना सामानहरु उठाउनसमेत पाएनन् ।
गमगढी बजारलाई वितरण गरिएको खानेपानी गमगढी खानेपानी उपभोक्ता समितिले राति नै ट्याङ्की खाली गरी पानी छोडे पनि आगलागी नियन्त्रणमा लिन कठिन भएको थियो ।
यसैबीच आज बिहान १० बजे जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक पूर्णबहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकले प्रदेश र सङ्घ सरकारलाई खरानी भएका घर पुनः र्निर्माणका लागि स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ र सङ्घसंस्थालाई राहत उपलब्ध गराउनका लागि र सुरक्षा निकायलाई यकिन क्षतिको विवरण लिनका लागि सहयोग गर्न आग्रह गर्ने निर्णय छ ।




प्रतिक्रिया