आज काठमाडौँमा यो वर्षकै बढी चिसो

आज काठमाडौँमा यो वर्षकै बढी चिसो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मङ्सिर (रासस) : काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव चार डिग्री सेल्सियस मापन गरिएको हो । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस थियो । चिसो बढेसँगै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम सुरु हुन्छ । केही दिन अघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति देशको पहाडी भ–ूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव चार डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहने छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव पाँच डिग्री र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

यो पनि – खुले पशुपति क्षेत्रका टिकट काउन्टर, दैनिक एक सय पर्यटक आगमन

काठमाडौँ, १ मङ्सिर (रासस) : कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा प्रवेश गरी घुम्न चाहने भारत बाहेकका विदेशी पर्यटकका लागि तीन स्थानमा काउन्टरको व्यवस्था गरिएको छ । तिलगङ्गा, वत्सलेश्वरी र गु्ह्येश्वरीमा काउन्टर राखी विदेशी पर्यटकलाई टिकट काटेर प्रवेश गराइन्छ ।

पशुपति क्षेत्रमा हाल तीन वटै काउन्टरबाट गरी दैनिक १०० पर्यटक प्रवेश गर्ने गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । कोरोना महामारी सुरु हुनुअघि दैनिक ३०० पर्यटक टिकट काटेर पशुपति क्षेत्र घुम्ने गरेका थिए । पशुपति क्षेत्र प्रवेश गर्दा भारत बाहेकका विदेशी नागरिकसँग रु एक हजार शुल्क लिइन्छ ।

कोरोनापछि पशुपतिनाथ मूलमन्दिर पुरानै स्वरुपमा खुला गरिसकिएको कोषले जनाएको छ । पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्न चाहने भक्तजनका लागि बिहानदेखि नै मन्दिर खुला गरिएको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपति क्षेत्रमा हुने गरेका सबै धार्मिक, सांस्कृतिक गतिविधि कोरोनाअघिकै स्वरुपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।