काठमाडौँ, १ मङ्सिर (रासस) : कोरोना महामारीका कारण डेढवर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा प्रवेश गरी घुम्न चाहने भारत बाहेकका विदेशी पर्यटकका लागि तीन स्थानमा काउन्टरको व्यवस्था गरिएको छ । तिलगङ्गा, वत्सलेश्वरी र गु्ह्येश्वरीमा काउन्टर राखी विदेशी पर्यटकलाई टिकट काटेर प्रवेश गराइन्छ ।
पशुपति क्षेत्रमा हाल तीन वटै काउन्टरबाट गरी दैनिक १०० पर्यटक प्रवेश गर्ने गरेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । कोरोना महामारी सुरु हुनुअघि दैनिक ३०० पर्यटक टिकट काटेर पशुपति क्षेत्र घुम्ने गरेका थिए । पशुपति क्षेत्र प्रवेश गर्दा भारत बाहेकका विदेशी नागरिकसँग रु एक हजार शुल्क लिइन्छ ।
कोरोनापछि पशुपतिनाथ मूलमन्दिर पुरानै स्वरुपमा खुला गरिसकिएको कोषले जनाएको छ । पशुपतिनाथ दर्शन एवं विशेष पूजा गर्न चाहने भक्तजनका लागि बिहानदेखि नै मन्दिर खुला गरिएको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपति क्षेत्रमा हुने गरेका सबै धार्मिक, सांस्कृतिक गतिविधि कोरोनाअघिकै स्वरुपमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
यो पनि – ‘शारदादेवी÷ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ घोषणा
काठमाडौँ, १ मङ्सिर : क्रियाशील आर्थिक पत्रकारको साझा संस्था नेपाल आर्थिक पत्रकार सङ्घ ९नाफिज० ले रु एक लाख राशिको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको छ । बैंकिङ तथा बीमा विज्ञका रुपमा रहनुभएका रमेशकुमार भट्टराईसँगको सहकार्यमा नाफिजले सो पुरस्कार घोषणा गरेको हो । भट्टराई हाल महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत सिईओ का रुपमा कार्यरत हुनुहुन्छ ।
उहाँले आफ्ना मातापिताको सम्मानमा सो पुरस्कार स्थापनाका लागि नाफिजलाई सहयोग गरेको जनाउँदै पुरस्कारका लागि आवश्यकपर्ने स्रोत अक्षय कोषका रुपमा रकम उपलब्ध गराउने बताउनुभयो । नाफिजले हरेक वर्ष आफ्नो वार्षिकोत्सवका दिन ‘शारदादेवी÷ढुण्डीराज भट्टराई–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ का नामले सो पुरस्कार प्रदान गर्ने जनाएको छ । सम्झौताअनुसार भट्टराईले नाफिजलाई पुरस्कारको स्रोत व्यवस्थापनका लागि रु दश लाखको चेक हस्तान्तरण गर्नुभएको छ । सोही रकमको ब्याजबापत प्राप्त हुने रकमबाट हरेक वर्ष उत्कृष्ट आर्थिक पत्रकारलाई निश्चित कार्यविधि बनाइ छनोट गरी पुरस्कृत गरिने नाफिजले जनाएको छ ।
“मेरा बुबा र आमाको सम्झनामा आर्थिक पत्रकारिता पुरस्कार स्थापना गर्ने सोच अनुसार नाफिजसँग मिलेर यो काम गरेको हुँ, यसले आर्थिक पत्रकारितामा संलग्नको लेखनवृत्तिका लागि प्रोत्साहन मिल्ने अपेक्षा गरेको छु”, हस्ताक्षर कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले नेपालमा आर्थिक पत्रकारिताको बलियो जग बसाउनु आवश्यक रहेको र त्यसका लागि सम्मान तथा पुरस्कारको सङ्ख्या तथा गुणस्तर दुवै बढाउनुपर्नेमा जोड दिनुभयो ।
नाफिज अध्यक्ष मोदनाथ ढकालले रु एक लाख राशिको ठूलो आर्थिक पत्रकारिता पुरस्कार घोषणा गर्न पाउँदा खुसी लागेको र यसले नाफिज आवद्ध पत्रकारलाई थप मेहनतका लागि पनि प्रेरित गर्ने बताउनुभयो । “यो पुरस्कार मात्रै होइन, आर्थिक पत्रकारितामा अब्बलता देखाउने प्रेरणा पनि हो, यसले थप गतिशील, अनुशासित र तथ्यपरक आर्थिक पत्रकारिताका लागि प्रेरणा दिने नाफिजले अपेक्षा गरेको छ”, उहाँले भन्नुभयो ।
पुरस्कारसम्बन्धी सम्झौता पत्रमा आज नाफिज अध्यक्ष ढकाल र दाता भट्टराईले हस्ताक्षर गर्नुभएको हो ।



प्रतिक्रिया