काठमाडौँ, १ मङ्सिर (रासस) : नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशनका लागि ११ जिल्लाबाट अझै प्रतिनिधिको विवरण आउन बाँकी रहेको छ । ती जिल्लामा प्रतिनिधि छनोट भइसके पनि प्राविधिक कारणले विवरण अझै नआएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कैलाली, कञ्चनपुर, बाजुरा, ताप्लेजुङ, पाँचथर, सुनसरी, सप्तरी, सिराहा, महोत्तरी, रौतहट र धनुषाबाट निर्वाचित भएका प्रतिनिधिको विवरण अझै प्राप्त नभएको हो । “महाधिवेशनका लागि सबै जिल्ला, विभाग र जनसङ्गठनमा प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “तर केही प्रक्रिया पु¥याउनुपर्ने भएकाले ती जिल्लाबाट विवरण आउन ढिलाइ भएको हो ।”
यस्तै २२ जनसङ्गठनमध्ये छ वटाबाट प्रतिनिधिको विवरण नआएको उहाँको भनाइ छ । एमालेले कात्तिक ३० गतेसम्म प्रतिनिधिको विवरण पठाउन निर्देशन दिए पनि ती जिल्ला र जनसङ्गठनबाट विवरण नआएको हो । उहाँले बिहीबारसम्म सबै जिल्ला र जनसङ्गठनको विवरण आउने बताउनुभयो । एमालेमा एक निर्वाचन क्षेत्रबाट एक महिला, एक दलितसहित पाँच र जनसङ्गठनबाट पाँचजनाका दरले प्रतिनिधि छनोट गरिएको छ ।
यही मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि एमालेले कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि छनोट गरेको थियो । महाधिवेशनका लागि धेरै जसो जिल्ला कमिटीमा सर्वसम्मत प्रतिनिधि छनोट गरिएको एमाले प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो ।
चितवनमा हुने महाधिवेशनमा देशभरिबाट एक हजार ९९९ प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशनले १५ केन्द्रीय पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी सदस्य र लेखा आयोग तथा अनुशासन आयोगमा १५÷१५ जना निर्वाचित गर्नेछ । महाधिवेशन गर्न एमाले नेता रामबहादुर थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।
यो पनि – प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती
बाजुरा, १ मङ्सिर रासस : जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते जिल्लाका सम्पूर्ण सडकमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको आवतजावतमा भाडा निर्धारण गरेको थियो । प्रशासनले मानोमानी ढङ्गले व्यवसायीको पीडालाई दृष्टिगत नगरी भाडा दर कायम गरेको र यस सडक खण्डमा चल्ने सवारी साधनलाई भौगोलिक विकटता तथा सडकको समयमा नै मर्मत हुन नसक्दा जोखिम पूर्ण सडकमा जिप सेवा सञ्चालन गर्नु पर्दा निकै समस्या भएको बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष मीनबहादुर बोगटीले बताउनुभयो ।
“सडकका बीचमा ठूला खाल्डा समेत फिलिङ गरेको छैन्, त्यसैमा झनै सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र गाडी मर्मत सेन्टरको कालोबजारीलाई दृष्टिगत नगरी व्यवसायीलाई मात्र भाडा घटाउन दबाब दिएकाप्रति आपत्ती छ”, स्वामिकात्तिक मानोसरोवरका महासचिव दाबा गुरुङले भन्नुभयो ।
सम्बन्धित निकायले जिप व्यवसायीका सवाललाई दृष्टिगत गरी समयमै सहमति पूर्ण वातावरण सिर्जना नगरुन्जेलसम्म सेवा सञ्चालन नगर्ने प्रशासनलाई मङ्गलबार प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।
प्रशासनले भाडादर हेरफेर नगरे थप आन्दोलन र यातायात सेवा सञ्चालन नगर्ने बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष बोगटी, महासचिव जयस्थिति मल्ल, स्वामीकार्तिक मानसरोवरका महासचिव गुरुङ र जय मालिका यातायात सेवा प्रालिका काउन्टर इन्चार्ज मनोज रोकायाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।
प्रतिक्रिया