भड्किलो प्रचारमा रोक

भड्किलो प्रचारमा रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, १ मङ्सिर (रासस) : नेपाली कांग्रेस कास्कीले पार्टीको अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले पार्टीको आन्तरिक निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने लक्ष्यका साथ भड्किलो प्रचारमा रोक लगाउने निर्णय गरेको हो ।

यो निर्णयसँगै अब कुनै पनि उम्मेदवारले भड्किलो गरी प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । “उम्मेदवारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटा मात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्”, उहाँले भन्नुभयो, “त्यसबाहेकका भड्किलो गरी अन्य प्रचार सामग्रीको प्रयोग गर्न पाइने छैन ।”

निर्वाचनस्थलमा उम्मेदवारसँग सम्बन्धित प्लेकार्ड र पर्चा वितरण गर्न पनि नपाइने र ब्यानर प्रदर्शनमा समेत रोक लगाइएको छ । बैठकले कार्यसमितिका ११ जना आमन्त्रित सदस्यलाई पूर्ण सदस्यमा मनोनयन गरेको प्रवक्ता सिग्देलले जानकारी दिनुभयो । पार्टीका प्रदेश, क्षेत्र र जिल्लाका अधिवेशन नजिकिँदै गर्दा कास्कीमा पार्टीको चुनावी चहलपहल बढेको छ । अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवार बन्न चाहने पार्टीका नेता तथा कार्यकर्ताले यतिखेर आफ्नो प्रचार अभियानलाई तीव्र पारेका छन् ।

यो पनि – प्रशासनले निर्धारण गरेकोे भाडाप्रति जिप व्यवसायीको आपत्ती

बाजुरा, १ मङ्सिर रासस : जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको सार्वजनिक भाडादरप्रति जिप व्यवसायीले आपत्ति जनाएका छन् । मार्तडी–कोल्टी र कवाडीसम्मको भाडा दर प्रशासनले व्यवसायीहरुको पीडालाई दृष्टिगत नगरी मनोमानी ढङ्गले निर्धारण गरेको भन्दै यातायात व्यवसायीले आपत्ति जनाएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले कात्तिक २२ गते जिल्लाका सम्पूर्ण सडकमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको आवतजावतमा भाडा निर्धारण गरेको थियो । प्रशासनले मानोमानी ढङ्गले व्यवसायीको पीडालाई दृष्टिगत नगरी भाडा दर कायम गरेको र यस सडक खण्डमा चल्ने सवारी साधनलाई भौगोलिक विकटता तथा सडकको समयमा नै मर्मत हुन नसक्दा जोखिम पूर्ण सडकमा जिप सेवा सञ्चालन गर्नु पर्दा निकै समस्या भएको बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष मीनबहादुर बोगटीले बताउनुभयो ।

“सडकका बीचमा ठूला खाल्डा समेत फिलिङ गरेको छैन्, त्यसैमा झनै सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र गाडी मर्मत सेन्टरको कालोबजारीलाई दृष्टिगत नगरी व्यवसायीलाई मात्र भाडा घटाउन दबाब दिएकाप्रति आपत्ती छ”, स्वामिकात्तिक मानोसरोवरका महासचिव दाबा गुरुङले भन्नुभयो ।

सम्बन्धित निकायले जिप व्यवसायीका सवाललाई दृष्टिगत गरी समयमै सहमति पूर्ण वातावरण सिर्जना नगरुन्जेलसम्म सेवा सञ्चालन नगर्ने प्रशासनलाई मङ्गलबार प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।

प्रशासनले भाडादर हेरफेर नगरे थप आन्दोलन र यातायात सेवा सञ्चालन नगर्ने बूढीनन्दा यातायात प्रालिका उपाध्यक्ष बोगटी, महासचिव जयस्थिति मल्ल, स्वामीकार्तिक मानसरोवरका महासचिव गुरुङ र जय मालिका यातायात सेवा प्रालिका काउन्टर इन्चार्ज मनोज रोकायाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराइएको छ ।