काठमाडाँै, १ मंसिर (रासस) : सरकारले सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका १५ करदातालाई सम्मान गरेको छ । दशौँ कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालयले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले उत्कृष्ट करदाताहरुलाई सम्मान गर्नुभयो ।
नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदता बनेको छ । यस्तै निर्यात कारोबारबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने डाबर नेपाल (प्रा)लि, विशेष उद्योगमध्येबाट एसियन पेन्टस् (नेपाल) प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगबाट पूर्वाञ्चल एग्रीटेक प्रालि रहेका छन् ।
यस्तै सहकारी तथा लघु वित्तको कारोवार गर्नेबाट छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, बैंक तथा वित्तीय संस्थाको कारोवार गर्नेबाट नविल बैंक लिमिटेड, बीमा व्यवसायमध्येबाट नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्येबाट नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटन व्यवसायमध्येबाट तारागाउँ रिजेन्सी होटल्स लिमिटेड र वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने भाटभेटनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि सम्मानित भएका छन् ।
मध्यमस्तरीय करदातामध्येबाट कर्जा सूचना केन्द्र कम्पनी लिमिटेड, ऊर्जामूलक उद्योगमध्येबाट हिमाल पावर लिमिटेड र सबैभन्दा बढी मूल्यअभिवृद्धि कर र अन्तःशुल्क दाखिला गर्ने सूर्य नेपाल प्रा.लि सम्मानित भएका छन् । २०६६ साउनदेखि २०७८ असार मसान्तसम्म मूल्य अभिवृद्धि करको मासिक कर विवरण र सो बमोजिमको कर समयममै बुझाएर नियमित कर सहभागिता जनाएका मध्ये आव २०७७÷०७८ मा सबैभभ्न्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गर्ने करदाताका रुपमा घोराही सिमेन्ट इण्डष्ट्री सम्मानित भएको छ ।
यसैगरी व्यक्तिगत आयमध्ये सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थशम्सेर राणा पनि सम्मानित हुनुभएको छ । दिवसकै अवसर पारेर विभाग मातहतका विभिन्न कार्यालयमा उत्कृष्ट सेवा प्रवाह गर्ने १० कर्मचारीलाई पनि पुरस्कृत गरिएको थियो ।
उत्कृष्ट करदाताका रुपमा सम्मानित नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्याकारी अधिकृत शंकरकुमार रायमाझीले सम्मानले थप उत्कृष्ट काम गर्न प्रोत्साहित गरेको र पुनर्बीमा कम्पनीलाई सधैँभर उत्कृष्ट बनाउन आफू प्रयत्नशील रहेको बताउनुभयो । आधुनिक एवं वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थानविन्दुका रुपमा नेपालमा मूल्यअभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउन थालिएको हो ।
यो पनि – खेतमै विज्ञ पाएपछि किसान हर्षित
वालिङ, १ मङ्सिर (रासस) : धान काटेर थन्क्याएपछि आलु लगाउने बेला हो यो । अहिले किसान आलु लगाउने खेतको तयारी गरिरहेका छन् । तर कतिपयमा आलु कसरी लगाउने, कुन जातको लगाउने, कसरी खन्ने, बीउ कुन अवस्थाको भएपछि लगाउने भन्ने पूर्ण ज्ञान नभएकाले आशा गरिएअनुरुप उत्पादन नहुने भएकाले उत्पादनमा जोड दिनका लागि खेतमै आलु विज्ञमार्फत प्रयोगात्मक ज्ञान दिइएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का पूर्व वरिष्ठ वैज्ञानिक तथा आलु विज्ञ डा भीमबहादुर खत्रीले किसानका खेतमै पुगेर आलु खेतीकाबारेमा प्रयोगात्मक ज्ञान दिनुभएको हो । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका किसानले समूहमा र व्यक्तिगतरुपमा आलुखेती गर्दै आएका छन् ।
सामूहिक वा व्यक्तिगतरुपमा आलुखेती गर्नेका लागि वालिङ नगरपालिका, युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘कोभिड– १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत व्यावसायिक तालीम खेतीसम्बन्धी जानकारी दिने उद्देश्यले खेतमै पुगेर प्रयोगात्मक तालिम दिइएको हो ।
“यहाँका किसानले सामूहिक र व्यक्तिगतरुपमा आलुखेती गर्दै आउनुभएको छ”, परियोजना वालिङका प्रमुख राधाकृष्ण डुम्रेले भन्नुभयो,“परम्परागत तबरले निर्वाहमुखीरुपमा आलुखेती गर्दै आउनुभएका किसानलाई व्यावसायिक बन्नका लागि प्रयोगात्मक सिकाइ निक्कै लाभदायी भएको महसुस गरेको छु ।” किसानले आलु लगाउनका लागि तयार पारेको खेतमै पुगेर विभिन्न पाँचवटा सहकारी संस्थाका किसान तथा व्यवसायिकरुपमा आलु उत्पादनतर्फ उन्मुख भएका ५० जना किसानले यसबाट लाभ लिएका परियोजना प्रमुख डुम्रेले बताउनुभयो ।
वालिङ ६ मिर्दीका किसान आलु विज्ञलाई आफ्नै खेतमा पाउँदा निक्कै खुसी देखिनुहुन्थ्यो । यहाँका महिलाले गतिशील किसान समूह गठन गरी केही वर्ष पहिलेदेखि सामूहिकरुपमा आलु, काउली, बन्दालगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । “गतवर्ष पनि हामीले समूहमार्फत आलुखेती गरेका थियौं”, समूहका संयोजक शान्ति तिवारीले भन्नुभयो, “हामीले जसरी जान्यौं त्यसरी नै लगाउने गरेका थियौं पूर्ण ज्ञानको अभावमा भनेजति उत्पादन लिन सकेका थिएनौं, अहिले भने आलु विज्ञमार्फत खेतमै प्रयोगात्मक विधि जान्ने अवसर प्राप्त भयो, जसका कारण हामी निक्कै खुसी छौं ।”
वालिङ नगरपालिका, युएनडिपी नेपाल र दियालोको सहयोगमा गतवर्ष पनि वालिङका विभिन्न ठाउँमा समूह तथा सहकारीमार्फत आलुखेती गर्नेका लागि शतप्रतिशत अनुदानमा आलुको बीउ उपलब्ध गराइएको थियो ।
उक्त समूहले गतवर्ष उत्पादन गरेको आलु वर्गिकरण गरी बीउका लागि छुट्ट्याएर अरु आलु बिक्री गरेको थियो । यहाँ उत्पादन भएको आलुलाई शीतभण्डारमा सुरक्षित राखेर फेरि सोही आलुलाई बीउका रुपमा प्रयोग गरिएको संयोजक तिवारीको भनाइ थियो ।



प्रतिक्रिया