बैतडी, १ मङ्सिर (रासस) : सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ४१ जनाको नमूना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आरटी पीसीआर १० एन्टीजेन विधिमार्फत तीन जनामा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १० र एन्टीजेन विधिमार्फत कञ्चनपुरका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर सात जनाले कोरोना जितेका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि मङ्गलबार यस प्रदेशमा ११ सङ्क्रमण पुष्टि हुँदा सात जना सङ्क्रमणमुक्त भएका थिए ।
यो पनि – कङ्केश्वरी मन्दिर परिसरका संरचना पुनःनिर्माण गरिने
काठमाडौँ, १ मङ्सिर (रासस) : काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर परिसरका कलात्मक ढोका, पर्खाल र पाटी पौवा पुनःनिर्माण गरिने भएको छ । महानगरपालिकाको रु एक करोड ३० लाख बजेटमा मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण गरी पर्यटकीय पूर्वाधारको काम गर्न लागिएको वडा सदस्य चन्द्रमान डङ्गोलले राससलाई जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका यी संरचना छ वर्षपछि महानगरपालिकाले बजेट विनियोजन गरेपछि चालु आर्थिक वर्षमै पुनःनिर्माण सुरु गर्ने गरी काम अघि बढेको छ ।
मन्दिर क्षेत्रमा चारवटा पाटी पौवासहित विष्णुमती नदी किनारको चिहान एवं घाटसमेत सुधार गर्न लागिएको छ । मङ्सिर ३ गते साइत हेरेपछि मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण सुरु हुनेछ । मन्दिर क्षेत्रका सम्पदा सुरक्षित राख्न वरिपरि पर्खालले घेर्न लागिएको हो । भूकम्पले भत्किएको मन्दिर भने पुरातत्व विभागको ठेक्कामा गत वर्ष नै पुनःनिर्माण सकिए पनि पहिलेको आकारभन्दा फरक पारिएको भन्दै स्थानीय समितिले बुझेको छैन । स्थानीयवासीले पहिलेको आकारप्रकार एवं स्वरुप बिगारेर मन्दिर पुनःनिर्माण गरेकामा आपत्ति जनाउँदै आएका छन् ।
यो पनि – नेप्सेमा दोहोरो अङ्कको वृद्धि, चार कम्पनीको सेयरमा सर्किट
काठमाडौँ, १ मङ्सिर (रासस) : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आजको वृद्धिसँगै पुनः दुई हजार ८०० को बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.९५ अङ्कले बढेर दुई हजार ८०१.५२ मा पुगेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले बढेर ५२५.४४ मा पुगेको छ । कूल २२४ कम्पनीको एक करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर रु सात अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका १३ उपसमूहमध्ये बैंकिङ ४.७२, व्यापार २५.६४, होटल तथा पर्यटन ५१.५२, जलविद्युत् ७१.९८, वित्त ३२.४२, अन्य १०५.२८ र लघुवित्त ८.६८ अङ्कले बढेको छ । विकास बैंक ७५.७९, निर्जीवन बीमा ६.२३, उत्पादन १००.६, जीवन बीमा ८४.७१, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५२ अङ्कले घटेका छन् । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख ६० हजार १५१ बराबर पुगेको छ ।
कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ५८ करोड ६८ लाख ६२ हजार ९५५ बराबरको कारोबार भयो । यस्तै, महालक्ष्मी विकास बैंक ३८ करोड ५६ लाख, एशियन लाइफ इन्स्योरेन्स ३३ करोड ६६ लाख ४० हजार ७४५, नेशनल हाइड्रोपावर २६ करोड ३१ लाख १२ हजार २१९ र गरिमा विकास बैंक रु २२ करोड १९ लाख ४० हजार ८१७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार पञ्चकन्या माई हाइड्रोपावर र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी ९.९९ र नेपाल बङ्गलादेश बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । त्यस्तै, बोटलर्स नेपाल तराई ७.४७, महालक्ष्मी विकास बैंक ७.४१, गुराँस लाइफ इन्स्योरेन्स ४.१३, गुह्वेश्वरी मर्चेन्ट बैंकले ३.८८ र एनआरएन इन्फास्टकचरका लगानीकर्ताले ३.०९ प्रतिशतले गुमाए ।



प्रतिक्रिया