काठमाडौँ, १ मङ्सिर (रासस) : पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । मङ्गलबार ३७७ सङ्क्रमित भएकामा आज ४१२ नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको तथ्याङ्कले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ११ हजार ९९३ को कोरोना परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ३५ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार २२३ रहेको छ । आज २०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९८ हजार ९१६ पुगेको छ । निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८३ पुगेको छ । अहिले कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय एक लाख १७ हजार ६१ ले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६३६ छ । अहिले होम आइसोलेसनमा सात हजार १६३, संस्थागत आइसोलेसनमा ४७३, आइसियुमा २२४ र भेन्टिलेटरमा ६० जनाले उपचार गराइरहेका छन् ।
यो पनि – कङ्केश्वरी मन्दिर परिसरका संरचना पुनःनिर्माण गरिने
काठमाडौँ, १ मङ्सिर (रासस) : काठमाडौँ महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिर परिसरका कलात्मक ढोका, पर्खाल र पाटी पौवा पुनःनिर्माण गरिने भएको छ । महानगरपालिकाको रु एक करोड ३० लाख बजेटमा मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण गरी पर्यटकीय पूर्वाधारको काम गर्न लागिएको वडा सदस्य चन्द्रमान डङ्गोलले राससलाई जानकारी दिनुभयो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका यी संरचना छ वर्षपछि महानगरपालिकाले बजेट विनियोजन गरेपछि चालु आर्थिक वर्षमै पुनःनिर्माण सुरु गर्ने गरी काम अघि बढेको छ ।
मन्दिर क्षेत्रमा चारवटा पाटी पौवासहित विष्णुमती नदी किनारको चिहान एवं घाटसमेत सुधार गर्न लागिएको छ । मङ्सिर ३ गते साइत हेरेपछि मन्दिर क्षेत्रका संरचना पुनःनिर्माण सुरु हुनेछ । मन्दिर क्षेत्रका सम्पदा सुरक्षित राख्न वरिपरि पर्खालले घेर्न लागिएको हो । भूकम्पले भत्किएको मन्दिर भने पुरातत्व विभागको ठेक्कामा गत वर्ष नै पुनःनिर्माण सकिए पनि पहिलेको आकारभन्दा फरक पारिएको भन्दै स्थानीय समितिले बुझेको छैन । स्थानीयवासीले पहिलेको आकारप्रकार एवं स्वरुप बिगारेर मन्दिर पुनःनिर्माण गरेकामा आपत्ति जनाउँदै आएका छन् ।
यो पनि – कृषि आधुनिकीरण परियोजनाको प्रगति समीक्षा
विराटनगर, १ मङ्सिर (रासस) : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको त्रैमासिक प्रगति समीक्षा भएको छ । परियोजना कार्यान्वयन समन्वय एकाइ मोरङले ‘स्थानीयतहबाट सञ्चालित पकेट, ब्लक विकास कार्यक्रम’को समीक्षा गरेको हो ।
प्रत्येक स्थानीयतहमा सञ्चालित पकेट र ब्लकअन्तर्गत भएका काम र गर्न बाँकी रहेका कामका विषयमा जानकारी हासिल गर्ने उद्देश्यले आज आयोजित समीक्षा कार्यक्रममा बेमौसमी वर्षाले किसानले लगाएका धेरै अन्नबाली, फलफूल, तरकारीलाई नष्ट गरेको जानकारी गराइएको छ । स्थानीयतहमा ब्लक र पकेटअन्तर्गत आलु, मकै, धान, गहुँ, बङ्गुर, बाख्रापालनजस्ता विषयमा पालिकामा रहेका कृषि अधिकृत एवं कर्मचारी विनोद दाहाल, शुभनारायण यादव, पर्वत साह, प्रकाश अधिकारी, कृषि ज्ञान केन्द्र मोरङका नुनुलाल उराँवलगायतले भएका प्रगतिबारे जानकारी गराउनुभयो ।
सो अवसरमा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेशकुमार पोखरेलले ब्लक र पकेट कार्यविधिलाई पूर्णपालना गरी कार्यक्रमका लागि स्वीकृत बजेट समयमै खर्च गर्न निर्देशन दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन समन्वय एकाइका प्रमुख विनोद मण्डलले आजको कार्यक्रमले एकअर्कामा समन्वय गर्न, समस्या समाधान गर्न र काम जुट्न उत्साह बढेको कुरामा जोड दिनुभयो ।



प्रतिक्रिया