अमेरिकी सहायक विदेशमन्त्री राजधानीमा

अमेरिकी सहायक विदेशमन्त्री राजधानीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ मङ्सिर (रासस) : नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने भ्रमणका क्रममा आज साँझ सङ्घीय राजधानी आइपुग्नुभएको छ ।

दुईमहिनाअघि सहायक विदेशमन्त्रीको कार्यभार सम्हाल्नुभएका लुले भोलि बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले पर्सि शुक्रबार परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ । उक्त मन्त्रालयका अनुसार नेपाल बसाइका क्रममा उहाँले अमेरिकी सहयोगमा सञ्चालित परियोजनाको अवलोकन गर्नुहुनेछ ।

यसैबीच, यहाँस्थित अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्नुहुने जनाएको छ । भोलि बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आइपुग्ने तथा उहाँले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको हो । “कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ”, विज्ञप्तिमा भनिएको छ । सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी, नायब शिष्टाचार महापाल रेवतीरमण पौडेल र अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।

यो पनि – काजीथुम्कामा भ्यू टावर निर्माण

बनेपा, १ मङ्सिर (रासस) : काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–५ स्थित काजीथुम्का डाँडामा पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गरिएको छ । सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सो स्तम्भ निर्माण गरिएको हो । गाउँको अग्लो डाँडामा भ्यू टावर निर्माण भएपछि गाउँको पर्यटन प्रवद्र्धन हुनेमा स्थानीय बासिन्दा खुसी देखिन्छन् । दृश्यावलोकन स्तम्भ निर्माण भएपछि यहाँ रोजगारीमा समेत वृद्धि हुने हुँदा स्थानीयवासी निकै खुसी भएको स्थानीय बासिन्दा अनिल गौतमले बताउनुभयो ।

गाउँसम्म आवतजावत गर्न पक्की सडक निर्माणसँगै अस्पताल भवन, पोखरी, धारालगायतका काम यहाँ भइरहेको उहाँको भनाइ छ । विकासका नयाँ लहर थपिँदै गएपनि रोजगारीको अवसर गाउँमा नभएका कारण युवा भने अझै पनि रोजगारीका लागि सहरतिर जाने अवस्था रहेको उहाँको भनाइ छ । “गाउँमा जति दुःख गरेपनि खान लगाउन मात्रै पुग्नेभएपछि थप कमाउनका लागि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता छ”, स्थानीयवासी गौतमले भन्नुभयो, “गाउँमा भएको कमाइले खाउलाउमा नै जीवन कट्ने अवस्था भएका कारण विकल्पमा सहर पस्नु यहाँका बासिन्दाको बाध्यता हो ।”

अर्का स्थानीय बासिन्दा ईश्वर गौतमले गाउँको शिरमा भएको अग्लो डाँडाबाट जताततै देख्न सकिने ठाउँमा भ्यु टावर निर्माण गरेर अझ थप पर्यटन प्रवद्र्धनको काम गरेकोमा खुुसी थपेको बताउनुभयो । अहिले सो ठाउँमा पदमार्गका लागि दुई ठाउँबाट सिँढी निर्माण गर्नाका साथै टावर भएको स्थानमा पर्यटकका लागि मेच निर्माण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका प्रमुख कार्यकारी अधिकृत महानदास लामाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगाानीमा सुरु भए यो स्तम्भको निर्माण सकिएको छ । दुईतिरबाट जाने बाटोमा सिँढी निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु ५० लाख लागतमा सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्यमध्यको एक काजीथुम्कामा भ्यु टावर निर्माण भएपछि आन्तरिक पर्यटकको आवागमन भइरहेको गाउँपालिकाले जनाएको छ ।

यो पनि – सात वर्ष बित्दासमेत सम्पन्न भएन नगरकोट सडक

–सञ्चिता घिमिरे, काठमाडौँ, १ मङ्सिर (रासस) : निर्माण सुरु भएको सातवर्ष वितिसक्दा पनि काठमाडौँको पर्यटकीय क्षेत्र नगरकोटको सडक अझै अलपत्र छ । उकालो सडकमा जतासुकै छरिएको निर्माण सामग्रीले गर्दा एकातिर पर्यटक र स्थानीयवासी सबैलाई आवतजावत गर्न समस्या भइरहेको छ ।

भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक आर्थिक वर्ष २०७०÷७१ मा सुरु भएकामा अझै सम्पन्न हुन नकसकेको हो । सडक धुलाम्मे हुँदा आवतजावत गर्न समस्या भएको कमलविनायक–नगरकोट सडक निर्माण दबाब समितिका संयोजक राजकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार निर्माण कम्पनीले समय–समयमा निर्माण सामग्री छरेजस्तो गरेपनि काम सकाउन खोजेको छैन ।

मन्त्रालय वा विभागको भ्रमणमा निर्माण सामग्री र जनशक्ति बढाइने गरिए पनि अरु समयमा निर्माणको गति सुस्त छ । उहाँले भन्नुभयो, “बेलाबेलामा अलिअलि गरेजस्तो गरेर जनताको आँखामा छारो हाल्ने बाहेक अरु केही भएको छैन ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आइतबार नगरकोट सडकको स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले यो सडक दुई महिनाभित्रमा सम्पन्न गर्न सम्बन्धीत पक्षलाई निर्देशन दिनुभयो । अझै पनि ढिलाइ भएमा अवधि थप नहुने उहाँको भनाइ थियो ।

एकदुई महिनाभित्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक जनशक्ति, उपकरण र निर्माणसामग्री पर्याप्त हुनुपर्ने भक्तपुर–नगरकोट सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार चिसो सुरु भइसकेकाले मौसम अनुकूल हुँदा र निर्माण कम्पनीले व्यवस्थापन राम्रो गर्दा मात्रै काम गर्न सकिन्छ । उहाँले भन्नुभयो, “अब एक दुई महिनामा सक्न अहिले देखिएको व्यवस्थापनले मात्रै पुग्दैन्, त्यसमा थप्नुपर्छ ।”

योजनाले केही दिन पहिले मात्रै निर्माण कम्पनीसँग कार्ययोजना माग गरेको थियो । निर्माण कम्पनीले एक महिनामा सम्पन्न गर्ने गरी कार्ययोजना मन्त्रालय, विभाग र योजनालाई दिएको छ । सडक निर्माण लामो समयसम्म नसकिएको र जनगुनासो आइरहेकै कारण आफू एकडेढ महिनादेखि नियमित रूपमा निर्माणस्थलमा आइरहेको प्रमुख श्रेष्ठले बताउनुभयो । निर्माणमा देखिएका समस्याका विषयमा समेत योजनाले निर्माण कम्पनीलाई घच्घचाइरहेको छ । उहाँले भन्नुभयो, “केही उपकरण थपेको पनि छ, कम्पनीले निर्माण सामग्री नियमित आउँछ र काम गर्छु भनेको छ ।”

नगरकोटका माथिल्लो भागमा जाडो समयमा काम गर्न सकिँदैन । तेलकोट–नगरकोटखण्डमा तल्लो भागभन्दा तापक्रम कम हुने भएकाले आगामी महिनामा काम गर्न नसकिने हुनसक्ने प्रमुख श्रेष्ठले बताउनुभयो । तापक्रम कम हुँदा कालोपत्र गर्दा गुणस्तर कम हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “तापक्रम पुग्यो भने मात्रै यो महिनामा काम गर्न सकिन्छ ।”

आफूले नियमित रूपमा निर्माणस्थलमा आएर गुणस्तरमा समस्या देखिएमा यहाँ छ भनेर देखाएर काम रोक्न भनेको प्रमुख श्रेष्ठले बताउनुभयो । निर्माण सामग्री यहाँ झारेपछि आफूले हुँदैन भन्दा लगानी खेर जाने भएकाले उत्पादन हुने ठाउँमा पुगेर नै हेर्छु उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ ल्याएर गुणस्तर नभएपछि समय खेर जाने र जनशक्ति पनि त्यसै बस्नुपर्छ ।”

अहिलेसम्म निर्माणमा ढिलाइ हुनुको सबैभन्दा प्रमुख कारण निर्माण कम्पनीको ढिलासुस्ती नै हो । अहिले सबैतिर निर्माणस्थल खाली भएकाले अरु समस्या नभएको प्रमुख श्रेष्ठको भनाइ छ । योजनाले कतै निर्माणस्थलका कारणले समस्या आएमा तत्काल समाधान गरिने निर्माण कम्पनीलाई भन्दै आएको छ । उहाँले भन्नुभयो, “विगतमा जङ्गलको रुख काट्नेलगायत समस्या थियो अहिले सामाधान भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालय, भक्तपुर र चाँगुनारायण नगरपालिकाले पनि निर्माणमा आवश्यक सहयोग गरेको छ । निर्माण कम्पनीलाई कार्यालयका कारणले ढिला नहुने भनी विश्वास दिलाइएको उहाँले बताउनुभयो । कम्पनीले काम गर्दा गुणस्तरमा समस्या देखिएमा रोक्न भनिए पनि योजनाबाट इञ्जिनीयर, सव–इञ्जिनीयर नआएर काम नरोकिने उहाँले बताउनुभयो ।

कमलविनायकको भत्केको पाटीबाट नगरकोटसम्म १५ दशमलव सात किमी छ । माथिल्लो भागमा झण्डै चार किमी सडक कालोपत्र गर्न पूरै बाँकी छ । नौ किमीमा एक तहको कालोपत्र सकिएर अर्का तहको कालोपत्र गर्न बाँकी छ । दुई दशमलव ७५ किमी सडकमा दुई तहको कालोपत्र गर्नुपर्नेमा एक तह सकिएर अर्काे तह गर्न बाँकी छ । एक तह कालोपत्र भइसकेर पनि पटकपटक समस्या आइरहेकाले त्यहाँ मर्मत भइरहेको छ । सडकको चौडाइ दुई लेन अर्थात सात मिटर हुने गरी कालोपत्र भइरहेको छ । सडकको छेउछेउमा पानी जानका लागि ड्रेन बनाइएको छ । सडकमा पैदलयात्रुमार्ग भने निर्माण भएको छैन ।