अपाङ्गता भएका व्यक्तिलाई एकमहिने तालिम

अपाङ्गता भएका व्यक्तिलाई एकमहिने तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको संरक्षकका लागि एकमहिने हस्तकलाका सामग्री बनाउने तालिम शुरु गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका संरक्षकलाई सीप विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले आजदेखि तालिम सुरु गरेको हो ।  तालिमको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापतिले सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा पनि योग्य हुने बताउनुभयो । “आधा पाकेको र आधा काँचो वस्तु काम लाग्दैन । कुनै पनि सीप वा विषयमा निपुण व्यक्ति सक्षम हुन्छ”, उहाँले भन्नुभयो ।

आपूmले सिकेको सीपलाई पूर्ण सदुपयोग गरी सोही विषयमा पारंगत हुन एडभान्स कोर्स गर्नुपर्ने धारणा राख्दै प्रजापतिले तालिम प्राप्त अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्तिले जस्तै रोजगारी प्राप्त गरी समाजमा उदाहरणीय कार्य गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो । “समय मूल्यवान छ । सही समयमा सिकेको सीपले जीवन परिवर्तन गर्न सक्छ । समयले नै व्यक्तिलाई अवसर प्रदान गर्दछ”, उहाँले भन्नुभयो ।

उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले स्थानीय सरकारका रुपमा जनताको नजिक रहेर कार्य गरिरहेको बताउँदै अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाले हरेक वर्ष ह्विल चियर, ट्वाइलेट चियर, सेतो छडीलगायतका सहायक सामग्री वितरण गरिरहेको तथा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको जानकारी दिनुभयो । उहाँले नगरको वार्षिक योजनामा हस्तकलाका सामग्री बिक्री गर्ने कोसेली घर सञ्चालन गर्ने र हस्तकला ग्राम सञ्चालन गर्ने लक्ष्य रहेको बताउँदै तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षक हिमालयश्वरलाल मूलले अपाङ्गता भएका व्यक्ति र अभिभावकलाई आर्थिक भार कम गराउन तथा रोजगारी अभिवृद्धि गर्न तालिम उपयोगी हुने विचार व्यक्त गर्नुभयो । कार्यपालिका सदस्य एवं अपाङ्गता समन्वय समितिका सदस्य रोशनमैया सुवालले अपाङ्गता भएका व्यक्ति र परिवारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ हस्तकला तालिम सञ्चालन गरिएको बताउनुभयो । सो अवसरमा वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य शिविर र खेलकूद प्रतियोगिता हुने जानकारी दिनुभयो ।