नक्कली नोटसहित पाँच पक्राउ

नक्कली नोटसहित पाँच पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ मङ्सिर (रासस) : नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पक्राउ गोमा श्रेष्ठसँग गरिएको अनुसन्धानका क्रममा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित नियन्त्रणमा लिएका हौँ”, प्रवक्ता बस्नेतले भन्नुभयो । प्रहरीले पक्राउ परेकासँग सक्कलीजस्तो देखिने नक्कली नोट रु ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरिने प्रिन्टर मेसिन, कागज, कागज टाँस्न प्रयोग गरिने फेविकल दुई थान, किप्याड मोबाइल एक थान, स्क्रिनटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरिने कैँची एक थान बरामद गरेको छ ।

यो पनि – अदालतको आदेशपछि निर्वाचनको तयारी गर्दै खानेपानी संस्था

तुलसीपुर, २ मङ्सिर (रासस) : लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित गरी खानेपानीको निर्वाचन गर्न निर्देशन गरेको छ । सोहीअनुसार संस्थाको बैठकले यही मङ्सिर १४ गते पार्सद् भेला गर्ने निर्णय गरेको छ । भेलाले आर्थिक प्रतिवेदन पारित गर्नेछ ।

सोही भेलाले नै निर्वाचनको मिति तोक्ने संस्थाका कोषाध्यक्ष सीताराम शर्माले बताउनुभयो । गत कात्तिक २५ गते संस्थामा पत्र आइपुगेकाले मङ्सिर २५ गतेभित्रै निर्वाचन गर्नुपर्ने उहाँको भनाइ छ । साथै निर्वाचनमा भाग लिनका लागि गत आर्थिक वर्षको महसुल बुझाउन अनुरोध गरिएको छ । कात्तिक १२ गतेसम्म खानेपानीको महसुल नबुझाएमा मताधिकार हुने छैन । हाल खानेपानीका आठ हजार २०० धारा छन् । संस्थाका ७१ पार्सद्मध्ये ४१ ले बहिष्कार गरेपछि अदालतमा पूर्वकर्मचारी यमुना शाहले रिट दायर गर्नुभएको थियो ।

शाहले गत फागुनमा बन्दसत्र नगरेर निर्वाचन गराउन लागेको भन्दै रिट दायर गर्नुभएको थियो । त्यसपछि संस्थाका निर्वाचन प्रभावित भएको थियो । समयमा निर्वाचन नभएको र अदालत तथा अख्तियारसम्म मुद्दा परेको भन्दै संस्थाका अध्यक्ष खेमराज वलीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको थियो । त्यसपछि कर्मचारीलाई तलब खुवाउनेदेखि अन्य काम गर्न जिल्ला प्रशासन कार्यालयले कोषाध्यक्ष र लेखा प्रमुखलाई जिम्मेवारी तोकेको थियो । रिट निवेदन परेपछि फागुन २२ गते तोकिएको निर्वाचन रोक्न अदालतले आदेश गरेको थियो ।