भक्तपुर, २ मङ्सिर (रासस) : भौतिक यातायात तथा पूर्वाधारमन्त्री रेणुकुमारी यादवले कमल विनायक–नगरकोट सडकखण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताउनुभएको छ । कमल विनायक–नगरकोट सडकखण्ड निर्माण सम्पन्न गर्नेबारेमा बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलबीच भएको छलफलमा उहाँहरु दुई महिनाभित्र सडक निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमत हुनुभएको छ ।
निर्माण व्यवसायी महासङ्घका पूर्वमहासचिव रामशरण देउजाको समन्वयमा बुधबार सङ्घ र प्रदेशका दुई मन्त्रीसहितको टोलीबीच भएको छलफलमा उक्त सडकलाई गम्भीरताका साथ लिएकाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण व्यवसायी शैलुङ कन्स्ट्रक्सनलाई निर्देशन दिनेबारेमा छलफल भएको थियो ।
निर्माण कम्पनीले ठेक्का सम्झौता गरी २०७०÷०७१ मा निर्माण सुरु गरेको उक्त सडक पटक–पटक म्याद थप गर्र्दै आएको र अहिले पुनः म्याद थप गरेको छ । पटक–पटक म्याद थप गरेर पनि आठ वर्षसम्म सडक निर्माण सम्पन्न नगरेको भन्र्दै स्थानीय बासिन्दा र होटल व्यवसायीले छिटो सडक निर्माण सम्पन्न गर्न माग गर्दै आन्दोलन समिति नै बनाएका छन् ।
मन्त्री भँडेलले सडकको अवस्था र स्थानीयवासीको आक्रोशका बारेमा मन्त्री यादवलाई जानकारी गराउँदै छिटो सडक निर्माण सम्पन्न गराउन पहल गरिदिन आग्रह गर्नुभएको समन्वयकर्ता एवं महासङ्घका पूर्वमहासचिव देउजाले जानकारी दिनुभयो । छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले सडक गुणस्तर बन्न नसकेको र कालोपत्र पनि एक कोड मात्र भएकाले दोहोरो कोड गर्नुपर्ने आवश्यकता रहेको जानकारी गराउनुभएको थियो ।
आगामी दुई महिनाभित्र कम्पनीले सडक निर्माण सम्पन्न गरेमा सडकको प्रत्येक मोडमोडमा गुणस्तरीय कालोपत्र गरेर टिकाउ बनाउन मन्त्रालयले बजेट विनियोजन गर्नेबारेमा समेत छलफल भएको छ । मन्त्री यादव त्यसमा सकारात्मक भएको देउजाले जानकारी दिनुभयो । छलफलमा सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले सडकको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
गत कात्तिक २८ गते उक्त सडकको निरीक्षण गर्दै नगरकोट पुगेर फर्कनुभएको मन्त्री यावदसहितको टोलीलाई नगरकोट सडक सङ्घर्ष समितिका संयोजक राजकुमार लामिछानेको नेतृत्वमा स्थानीयले मन्त्री यादवको गाडी रोकेर सडक छिटो निर्माण सम्पन्न गराइदिन माग गरेका थिए ।
यो पनि – हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान
उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् ।
हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज, सुर्खेतदेखि हुम्लामा सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भर्दा यात्रुको चाप घटेको छ । सीता एयरलाइन्सले बिहानदेखि दिउँसो चार बजेसम्म उडान भर्दा सिमकोट विमानस्थलमा यतिबेला यात्रुको चाप घटेको हो । समिट र तारा एयरलाइन्सले दैनिक दुईसम्म उडान भर्ने गरेका छन् ।
जिल्लामा अभाव भएको हवाई उडानमा निजी एयरलाइन्सले उडान तालिका बढाउँदा जिल्लाबाहिर जाने हुम्ली यात्रुलाई सहज भएको छ । दसैँ तिहार मनाउन घर पुगेका विद्यार्थीसहित स्वास्थ्योपचार तथा काम विशेषले जिल्लाबाहिर जाने यात्रुलाई थप सहज भएको हो । सिमकोट विमानस्थलमा दैनिक सयौँको सङ्ख्यामा भीडभाड हुने गरे पनि दुईदिन यतादेखि यात्रुको चाप निकै घट्दै आएको छ ।
नेपाल एयरलाइन्सको हुम्लामा हप्ताको तीन उडान
यस्तै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लाका लागि आफ्नो उडान थप गरेको छ । हुम्लासहितका विमानस्थलमा यात्रुको चाप वृद्धि भएकाले उडान सङ्ख्या थप गरेको जानकारी प्राप्त भएको छ । नेपाल एयरलाइन्सले हुम्लाका लागि हप्तामा तीनवटा सहुलियत उडान थप गरेको जिल्ला शाखाका प्रमुख बलबहादुर सुनारले बताउनुभयो । यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्ने भएको प्रमुख सुनारले बताउनुभयो । नेपाल एयरलाइन्सले हुम्लाका लागि आइतबार, सोमबार र बिहीबार उडान भर्ने भएको उहाँले बताउनुभयो ।
सिमकोटबाट नेपालगञ्जको भाडा नेपाल एयरलाइन्सको रु छ हजार ९१० छ भने निजीस्तरका तारा र सीता एयरले रु छ हजार ३० र समिट एयरले रु छ हजार १३० लिने गरेका छन् ।



प्रतिक्रिया