कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा बौलाहा कुकुरको टोकाइबाट पाँच जना घाइते भएका छन् । बुधबार राति र आज बिहान गरी कुकुरको टोकाइबाट शुक्लाफाँटा–११ का २५ वर्षीय रमेश सेटी, ३२ वर्षीय लक्ष्मी नाथ, ४० वर्षीया मञ्जरी साउद, ५० वर्षीय राजबहादुर सेटी र ५५ वर्षीय रामबहादुर ऐर घाइते भएका छन् । स्थानीय पद्म सेटीका अनुसार घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ ।
यो पनि – नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिका आइसीयू
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने सघन उपचारकक्ष (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच शय्यामा आइसीयू कक्ष सञ्चालनमा ल्याएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सो कक्षको शुभारम्भ गर्दै मध्यपुरथिमिका बासिन्दालाई मात्रै नभई देशभरका बिरामीका लागि अस्पतालले सुलभ र सहज उपचार सेवा दिँदै आएको बताउनुभयो ।
उहाँले टेकु अस्पतालपछि पिसीआर परीक्षण गर्ने देशकै दोस्रो अस्पताल बन्न सफल भएको र अहिले अस्पतालले तीन पिसीआर मेसिन सञ्चालनमा ल्याएको जानकारीदिनुभयो । उहाँले भन्नुभयो“अक्सिजन प्लान्ट स्थापनादेखि आइसीयू र भेन्टिलेटरको विस्तार गर्दै अहिले बालबालिकाका लागि भेन्टिलेटरसहित छुट्टै आइसीयू सञ्चालनमा ल्याउन सफल भएको छौँ ।”
अस्पतालले मिर्गौला पीडित बिरामीका लागि डायलायसिस मेसिनसमेत सञ्चालनमा ल्याएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले हाललाई दुई डायलायसिस मेसिनबाट दैनिक बिरामीको उपचार गरिरहेको जानकारी दिँदै रोटरी क्लबको सहयोगमा थप चार मेसिनबाट सेवा सुरु हुन लागेको बताउनुभयो ।
अस्पतालले हाल २५ श्ययाको एचडीयू र १७ वर्षमाथि उमेरका बिरामीका लागि भेन्टिलेटरसहितको १० शय्याको आइसीयू सञ्चालन गरिरहेको छ । कूल १०२ शय्यामा सञ्चालित यस अस्पतालले नर्सिङ कलेज सञ्चालनको तयारीसमेत गरेको छ भने अस्पतालमा विभिन्न सेवा विस्तार गर्दै लगेको जनाइएको छ ।
यो पनि – ‘महँगी अन्त्य गरियोस्’
अखिल नेपाल किसान युनियनले महँगी र भष्टाचारको अन्त्य गरी राजनीतिक स्थिरता कायम गर्नुपर्ने माग गरेको छ । युनियनले सार्वजनिक वितरण प्रणाली लागू गर्नुपर्ने, किसान र आम उपभोक्तालाई न्यायोचित मूल्यमा दैनिक उपभोग्य खाद्य पदार्थलगायतका आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने र मूल्य स्थिर राख्न ठोस् उपाय अपनाउन समेत माग गरेको छ । युनियनले आज विज्ञप्ति जारी गरी किसानले उब्जाएको प्रमुख अन्नबालीको न्यायोचित मूल्य तोक्न र खरिद गर्न ठोस् व्यवस्था गर्न अनुरोध गरेको छ ।
“किसानले उचित मूल्य नपाउने र ठगिने, उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने तथा विचौलियाबाट किसान र उपभोक्ता ठगिने निरन्तरको विद्यमान स्थिति अन्त्य गरियोस्”, युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चाडबाडको मुखमा समेत खाना पकाउने ग्यासको मूल्य बढाइएको, दुई–दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाइएको, खाने तेल, दाल, चामललगायतको मूल्य आकासिँदा उपभोक्ता मारमा परेको युनियनले जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बितेका तीन महिनामा घ्यू तथा तेलमा ३१.६८ प्रतिशत, माछा मासुमा १२.९३ प्रतिशत तथा दाल र गेडागुडीमा १०.७१ प्रतिशत मूल्य बढेको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण बोझ किसान र आम उपभोक्ताको टाउकोमा थोपार्ने गरेकोप्रति युनियनले आपत्ति जनाएको छ ।
प्रतिक्रिया