कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सापटी दिने गरेकोमा अव जग्गा किन्नलाई समेत रु ५० लाख सम्म सापटी दिने छ ।
यस्तै कोषबाट प्राप्त हुने अन्य कुनै पनि सापटी उपयोग नगरेका सञ्चयकर्ताले धितोले बढीमा १५ वर्षको तलब बराबरको रकम सापटी प्राप्त गर्ने कार्यविधिमा जनाइएको छ । ब्याज दर सात दशमलब ९० प्रतिशत तोकिएको सापटीका लागि खरिद गरिने जग्गा धितो राख्नुपर्ने छ । हाललाई देशका मुख्य सहरी क्षेत्रमा यो सापटी लागू गर्न लागिएको जनाइएको छ । कोषको धनगढी शाखाको कार्यक्षेत्र अन्तर्गत कैलाली र कञ्चनपुरका बजार क्षेत्रमा सापटी प्रवाह गरिने धनगढी शाखाका प्रमुख केसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सञ्चयकर्ताको मागको आधारमा तोकिएको मापदण्ड पूरा भएका अन्य क्षेत्रमा समेत क्रमशः सापटी विस्तार गर्ने योजना छ ।’’ कोषले जग्गा खरिदको लागि सापटी प्रदान गर्ने योजना गत भदौ ३१ मा सार्वजनिक गरेपनि कार्यविधि स्वीकृत नभएकोले कार्यान्वयनमा आउन सकेको थिएन । कोषले सञ्चयकर्तालाई घर निर्माण तथा घर खरिद घर मर्मत सापटी, शैक्षिक सापटी, विशेष सापटी, सरलकर्जा लगायतका सापटी समेत उपलव्ध गराउँदै आएको छ ।
यस्तै सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत काजकिरिया खर्च, औषधि उपचार शोधभर्ना, दुर्घटना क्षतिपूर्ति, प्रसूति खर्चलगायतका शीर्षकमा सञ्चयकर्तालाई सुविधा प्रदान गरिरहेको छ । कोषमा आवद्ध सञ्चयकर्ताबाट सङ्कलन भएको स्रोतलाई उनीहरुकै हितमा परिचालन गर्ने उद्देश्यले यी सुविधा प्रदान गरिएको केसीले बताउनुभयो । कोषमा करिब ६ लाख सञ्चयकर्ता आवद्ध छन् ।
यो पनि – कात्तिक नाच सम्पन्न
हिरयण्यकश्यपु वध मञ्चनसँगै ‘कात्तिक नाट्य महोत्सव’ सम्पन्न भएको छ । पाटनको ‘कात्तिक डबली’ कात्तिक नाच प्रदर्शन गरिएको थियो । हिरण्यकश्यपुको वध मञ्चनसँगै कात्तिक नाच सम्पन्न भएको कात्तिक नाच संरक्षण समितिका कोषाध्यक्ष उत्तमरत्न शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लगभग तीन हजार मानिसको सहभागितामा राति ८ बजे सुरु भएको नाच मध्यराति साढे १ बजे सम्पन्न भयो ।”
आज डबलीमा हालिएको पाल आदि झिकेर सरसफाइ गर्ने काम जारी रहेको उहाँको भनाइ छ । नाचको मुख्य आकर्षण नृसिंह नृत्य हेर्न हजाराँै हजार मानिस पाटन भित्रने गरेका स्थानीयवासी सूर्यमान डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष धेरै मानिस नृत्य हेर्न पाटन आए तर कोभिडअघि जस्तो भीड देखिएन ।”
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । सत्ताइस दिनसम्म यस नाच प्रदर्शन गर्दा हरेक दिन विभिन्न विषयवस्तु तथा कथामा आधारित रही बेग्लाबेग्लै तरिकाले नृत्य मञ्चन गरिनु यस नाच आफैँले ठूलो विशेषता बोकेको छ ।
कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास रहनाका साथै आफूसँग भएको पद र शक्तिको दुरुपयोग पनि नगर्न सन्देश छर्ने गरिन्छ । नाचको सर्जक स्रष्टा एवं प्रवर्तक सिद्धिनरसिंह मल्लका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दिक्षा गुरु विश्वनाथ उपाध्यायलाई लिइन्छ ।
सो नाचको थालनीले सुरुआती चरणदेखि नै जनतालाई एउटै सूत्रमा बाँधेर एकछत्रमा ल्याई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिनै रहेको विश्वास छ । सो नृत्य मञ्चन गरिने स्थान पाटनमा ललितपुर भेगकै सर्वप्राचीन ढुङ्गेधारा मङ्गहिटी अर्थात् मणिधारा रहनाका साथै दरबारबाट पूर्वतर्फ रुद्रवर्ण महाविहार नपुग्दै सडकको बायाँपट्टि लुँहिटी वा नुगःहिटी अर्थात् नेवारी शब्दमा लुँहिटीको अर्थ सुनको धारा अर्थात सुन्धारासमेत देख्न पाइन्छ । मल्लकालमा निर्माण भएका मन्दिर अनि पाटी तथा सतल र दरबारहरु आज पनि पाटनमा जीवितै छन् ।
ललितपुर दरबार सेरोफेरोमा लिच्छविकालदेखिका अभिलेख अनि मूर्तिकला र स्थापत्य अर्थात् ढुङ्गेधार र चैत्यका प्रमाण पाइन्छन् । विश्व पर्यटक आगमन तथा आकर्षणका हिसाबले काठमाडौँ उपत्यकामा ललितपुर दरबार अग्रणी छ । सो नाचका अलवा पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वर मेला आदि पनि मनाइने स्थानीयवासीको मत छ ।



प्रतिक्रिया